
पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिर उद्घाटनमा आयोजित पूजाआजामा सरिक भएका छन् ।
शुक्रबार बिहान चार्टर्ड विमानमार्फत भैरहवा आएका उनलाई समर्थक, शुभेच्छुक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता, कार्यकर्ता, राजावादीलगायतले स्वागत गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र आज दिउँसो चार बजे नै काठमाडौं फर्किने कार्यक्रम रहेको उनको सचिवालयका सचिव फणीन्द्र पाठकले जानकारी दिए ।

पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर)को बौद्ध गुरु छोकी निमा रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले गुम्बाको उद्घाटन गरेका हुन् ।
कानिङ सेडुव लिङ गुम्बा संगठन तथा विकास कोष परिवारले निर्माण गरेको गुम्बाको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा बोल्दै बौद्ध गुरु निमा रिन्पोछेले देश/विदेशका चन्दादाताहरूको सहयोगबाट हजार बुद्धको महाविहार निर्माण भएको जानकारी दिँदै सबैले संरक्षण गर्नुपर्ने बताए ।
उनले बुद्ध भगवानको जन्मस्थल लुम्बिनीमा विहार निर्माण गर्न पाउँदा निकै खुशी लागेको बताउँदै आफूहरूलाई पूजाको वातावरण बनाइदिन आग्रह गरे ।





