
नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउनु सौभाग्यको कुरा भएको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा शिष्टाचार भेटवार्ताका क्रममा द्विवेदीले यस्तो बताएका हुन् । उनलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा उनले दुवै देश तथा सेनाबीचको उत्कृष्ट द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने विषयमा पनि छलफल गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
यसैगरी भारत र नेपालबीचको व्यापक सैन्य तथा द्विपक्षीय सम्बन्धका बारेमा विचार आदानप्रदान गर्न जनरल उपेन्द्र द्विवेदीले रक्षामन्त्री मानवीर राईसँग पनि शिष्टाचार भेटवार्ता गरेको दूतावासले जनाएको छ । सो क्रममा द्विवेदीले दुई देशबीचको रक्षा सम्बन्धलाई थप सुदृढ गर्दै नयाँ उचाइमा पुर्याउनुपर्ने कुरामा जोड दिएका थिए ।
ती भेटहरुमा भारतीय राजदूत नवीन श्रीवास्तव, भारतीय रक्षा सहचरी तथा प्रतिनिधिमण्डलका अन्य सदस्यहरु सहभागी थिए ।
यस्तै आजै भारतीय सेना प्रमुख द्विवेदीले शिवपुरीस्थित नेपाली आर्मी कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गरेका छन् । त्यहाँ पुग्दा उनलाई नेपाली सेनाको सैनिक तालिम महानिर्देशनालयका उपरथी ध्रुवप्रकाश शाह तथा नेपाली सेनाको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका कमाण्डेन्टले स्वागत गरेका थिए । द्विवेदीले आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका विद्यार्थी अफिसरहरुलाई सम्बोधन समेत गरेका थिए ।