
सत्तारुढ दल नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि एमालेसँग ‘सरकारमा सहकार्य, मैदानमा प्रतिस्पर्धा’ भन्दै पार्टी पंक्तिलाई सर्कुलर पठाएको छ । स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्माले एमालेसँग प्रतिस्पर्धा भए पनि आपसी एकता र विश्वासको साथ अगाडि बढ्ने भन्दै सर्कुलर पठाएका हुन् ।
‘उपनिर्वाचन हुने तहका साथीहरू मिसन मंसिर १६ मा सम्पूर्ण रूपले केन्द्रित हुन जरुरी छ । मुख्य प्रतिस्पर्धी दलसँग सरकारमा सँगै रहेको भए पनि सरकारमा सहकार्य, मैदानमा प्रतिस्पर्धाको नीतिमा हामी सबै प्रष्ट छौं,’ सर्कुलरमा भनिएको छ, ‘आपसी एकता, विश्वास र व्यवस्थित कार्ययोजना साथ हामीले परिणाम हासिल गर्नुछ । जीत या हार मुलतः पार्टीको हुने हो, उम्मेदवार केवल प्रतिनिधि पात्र मात्र हुन् भन्ने यथार्थ हामी सबैले बलियो ढंगले आत्मसात गरेकै छौं ।’
केन्द्र र प्रदेशको सत्तामा कांग्रेस एमालेसँग सहकार्यमा छ । ४२ पदमा उपनिर्वाचन हुँदै गर्दा यी दुई दलले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा तालमेल गरेका छन् । कांग्रेसले उम्मेदवार नदिएको यो पालिकामा एमाले उम्मेदवार केशकुमारी तुलाचन रुख चिन्हबाट उठेकी छिन् ।
कांग्रेसले मात्रै होइन एमालेले पनि अस्थिरता र अराजकताविरुद्ध दुई ठूला दल मिल्नुपरेको बताउँदै आएको छ । शुक्रबार मात्रै काठमाडौंमा जागरण सभामा बोल्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धी पार्टी भए पनि आवश्यकताले मिल्नुपरेको बताएका थिए ।
तर काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख, मोरङको ग्रामथान, दैलेखको महाबु गाउँपालिकाको अध्यक्षसहितमा दुवै दलले आ–आफ्ना उम्मेदवार अगाडि सारेका छन् ।
यीबाहेक जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, त्यस्तै गाउँपालिका उपाध्यक्षतर्फ दोलखाको गौरीशंकर, बाजुराको स्वामीकार्तिक खापर, हुम्लाको सर्केगाडमा उपनिर्वाचन हुँदैछ । यी सबैमा कांग्रेस र एमालेका आ–आफ्ना उम्मेदवार छन् ।
कांग्रेसले मात्रै होइन एमालेले पनि अस्थिरता र अराजकताविरुद्ध दुई ठूला दल मिल्नुपरेको बताउँदै आएको छ । शुक्रबार मात्रै काठमाडौंमा जागरण सभामा बोल्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धी पार्टी भए पनि आवश्यकताले मिल्नुपरेको बताएका थिए ।

‘भ्रममा नपुर्नुस्, कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी हुन् । तर, अहिले हामीबीचको प्रतिस्पर्धाभन्दा हाम्रो एकताको कुरा हो । देश, लोकतन्त्र र संविधानलाई मास्न खोजिएको छ । अराजकता ल्याउन खोजिएको छ । समाजलाई भाँड्न खोजिएको छ,’ ओलीले भनेका थिए, ‘नेपाली जनताले ठूलो संघर्षले ल्याएको लोकतन्त्र, जनताको सर्वोच्चता र सार्वभौम जनताको हैसियतलाई समाप्त पार्न खोजिएको छ । हामी यसविरुद्ध एक भएर उभिन्छौं ।’
ओलीले दुई दलबीच सत्ता समीकरणको भागबण्डाको सहमति सहज लागू हुने पनि बताएका थिए । अबको १८ महिना आफू र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले प्रस्ट्याएका थिए ।
के छ कांग्रेसको १५ बुँदे सर्कुलरमा ?
कांग्रेसले केही दिन अगाडि उपनिर्वाचन हुने प्रदेश, जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका एवं वडा कार्यसमितिलाई १५ बुँदे विशेष परिपत्र पठाएको छ । जसमा उपनिर्वाचन लोकतान्त्रिक प्रणाली र कांग्रेस पार्टीका लागि विशेषरूपले महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ ।
कांग्रेसले निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिँदै अरु प्रतिस्पर्धी दलले आचारसंहिता नमाने सम्बन्धित निकायमा पहल गर्न भनेको छ ।
उम्मेदवार बन्न आकांक्षा राखेकालाई आगामी दिनमा जिम्मेवारी दिने विषयमा आश्वस्त गराउन, आपतकालीन अवस्थाबाहेक निर्वाचन हुने स्थानका नेता कार्यकर्तालाई अन्यत्र कार्यक्रम नराख्न पनि कांग्रेसले ध्यानाकर्षण गराएको छ । निर्वाचन लोकतान्त्रिक प्रणालीको मुल आत्मा भएको भन्दै कांग्रेसले स्वस्थ प्रतिस्पर्धामा सामेल हुन मतदातालाई अपिल गरेको छ ।
चुनाव जित्ने संरचना निर्माण
कांग्रेसले ४२ पदका लागि हुने निर्वाचन जित्ने गरी संरचना निर्माण गर्न निर्देश गरेको छ । जसमा उपनिर्वाचनसम्म सम्पूर्ण समय दिएर व्यवस्थापनमा समय दिन सक्ने ५/७ जना रहेको सचिवालय, चुनाव हुने तहको मुख्य नेतृत्व पङ्क्तिको सहभागितामा चुनाव परिचालन समिति, पार्टी महिला संघ र अन्य भ्रातृ संस्थामा रहेका महिलाहरूको समन्वयमा महिला प्रचारप्रसार समिति गठन गर्न भनिएको छ ।
कांग्रेसले उपनिर्वाचनमा मतदाताका बीचमा हाम्रा मुद्दा र प्रतिबद्धता भन्दै ७ वटा मुद्दा अगाडि सारेको छ । सहकारी ठगीमा परेका नागरिकलाई बचत फिर्ता र दोषीलाई दण्ड दिलाउन, स्थानीय तहलाई थप जनमुखी बनाउन र संघीय सरकारलाई अझ जिम्मेवार बनाउनुपर्ने मुद्दा कांग्रेसले अगाडि सारेको छ ।
त्यस्तै, सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न सक्ने उत्साही युवाको टिम र परिचालनको लागि युवा प्रचारप्रसार समिति, प्रचार अभियान, बुथ, मतपेटिका संकलनदेखि मतगणनासम्म व्यवस्थित रूपले कार्य गर्न तथा कुनै पनि दबाब संगठित रूपले सामना गर्न सक्ने युवा टिम निर्माण र जनप्रतिनिधि समन्वय समिति गठन गर्न पनि निर्देशन दिइएको छ ।
पार्टीलाई विजय गराउन ठूलाभन्दा साना सभा, टोल केन्द्रित भेला र कोणसभा तथा भेटघाटलाई कांग्रेसले प्राथमिकतामा राख्न भनेको छ । गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्नेले उपनिर्वाचनमा राम्रो भूमिका निर्वाह गरे कारबाही फुकुवा र जिम्मेवारी प्रदान गर्ने विषयमा सुसूचित गराउन कांग्रेसले भनेको छ ।
उपनिर्वाचनको समग्र कार्यहरूको सम्पादन गर्ने क्रममा आवश्यक सहजीकरण तथा कार्य अनुगमनका लागि ‘उपनिर्वाचन विशेष अनुगमन समिति’ गठन गर्ने कांग्रेसको भनाइ छ ।
यी हुन् उपनिर्वाचनमा कांग्रेसका मुद्दा
कांग्रेसले उपनिर्वाचनमा मतदाताका बीचमा हाम्रा मुद्दा र प्रतिबद्धता भन्दै ७ वटा मुद्दा अगाडि सारेको छ । सहकारी ठगीमा परेका नागरिकलाई बचत फिर्ता र दोषीलाई दण्ड दिलाउन, स्थानीय तहलाई थप जनमुखी बनाउन र संघीय सरकारलाई अझ जिम्मेवार बनाउनुपर्ने मुद्दा कांग्रेसले अगाडि सारेको छ ।
त्यस्तै, लोकतान्त्रिक प्रणालीलाई अझ बलियो बनाउन, गाउँठाउँमा विगतमा पुगेका विकासका कार्य नागरिक पङ्क्तिमा स्मरण गराउँदै अधुरा विकास योजनाहरूलाई गति दिएर नागरिकमा नयाँ विश्वास भर्ने कर्म गर्न, स्थानीयवासीको भावना र आवश्यकताअनुरूप स्थानीय स्तरका मुद्दाको जिम्मेवार ढंगले नेतृत्व गर्ने मुद्दा पनि कांग्रेसले अगाडि सारेको छ ।
यीबाहेक उम्मेदवार एवं अन्य प्रचारक सबैको सार्वजनिक प्रस्तुति अत्यन्तै सालिन, जिम्मेवार र परिपक्व राख्न सबै तहको नेतृत्वले धैर्य साथ समन्वय गर्न कांग्रेसले सजग गराएको छ ।