
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित हुने भएका छन् ।
चीन भ्रमणको तयारीबारे परामर्श गर्न सोमबार बिहान सिंहदरबारमा प्रधानमन्त्री ओलीले बोलाएको सरोकारवालासँगको बैठकमा आफू उपस्थित हुन नसक्ने उनले जानकारी दिएका छन् ।
आफू गृहजिल्ला गोरखा जान लागेकाले प्रधानमन्त्रीले चीन भ्रमणको सन्दर्भमा बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएका हुन् ।
यद्यपि उनले एक्समार्फत् नै ओलीलाई केही सुझाव दिएका छन् । जसमा भट्टराईले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै आफ्नो सार्वभौमसत्तालाई भ्रमणका क्रममा पनि ख्याल राख्न सुझाव दिएका छन् ।
उनले दुई उदीयमान र प्रतिस्पर्धी शक्तिहरू चीन र भारत बीचको नेपालको विशिष्ट भूरणनीतिक, भूआर्थिक र भूराजनीतिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नेतर्फ सरकारले ख्याल गर्नुपर्ने धारणा पनि राखेका छन् ।
चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री ओलीले आज सरोकारवालासँग छलफल गर्न लागेका छन् । ओलीले सोमबार बिहान ११ बजे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग सुझाव लिने उद्देश्यले छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । विगतदेखि नै प्रधानमन्त्रीको विदेश भ्रमणअघि यसरी परामर्श हुने गरेको छ ।
प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमणको तयारी गरेका छन् । तर, सरकारले अहिलेसम्म औपचारिक रूपमा मिति सार्वजनिक भने गरिसकेको छैन ।
As I am leaving for my home district Gorkha today and won't be able to attend the consultation meeting of former PMs called by @PM_nepal_ on his forthcoming China visit, here are my few thoughts for his considerations:
— Baburam Bhattarai (@brb1954) November 25, 2024
- Nepal is the oldest independent and sovereign country in…