
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-९ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१० बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका-७ आदमटार घर भई हाल काठमाडौंको काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने ३६ वर्षीय पदमबहादुर भुजेल र झापाको बाह्रदर्शी गाउँपालिका-३ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-३ कपन बस्ने ४१ वर्षीय कार्तिकलाल राजवंशी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोइरालालाई काँडाघारी, भुजेललाई नयाँबजार र राजवंशीलाई दरबारमार्गबाट पक्राउ गरेको जनाएको छ ।
कोइरालाले अस्ट्रेलिया पठाउने भन्दै एक जनाबाट एक लाख, भुजेलले सर्बिया पठाउने भन्दै एक जनाबाट तीन लाख र राजवंशीले अल्बानिया पठाउने भन्दै एक जनाबाट सात लाख ७० हजार रकम लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
लामो समयसम्म झुक्यानमा राखी पछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले जाहेरी दिएपछि प्रहरी उनीहरूको खोजीमा जुटेको थियो ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।