
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न कालखण्डमा सहिद भएका तथा जेलनेलसहित यातना पाएका योद्धाहरूका कारण देश परिवर्तन भएको बताएका छन् ।
सोमबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२५, लोहनामा नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभाका पूर्वसदस्य दिवंगत अरविन्द ठाकुरको अर्धकदको प्रतिमा अनावरण गर्दै देउवाले यस्तो बताएका हुन् ।
लोकतान्त्रिक सरकारलाई अपदस्त गरेका राजा महेन्द्रमाथि कांग्रेसको सशस्त्र आन्दोलनका क्रममा बम प्रहार गर्न खटिएर पक्राउ परी १६ वर्षसम्म कठोर जेलजीवन बिताएका प्रजातान्त्रिक योद्धा ठाकुर जस्ता नेताकै कारण मुलुकमा संघीय लोकतन्त्र प्राप्त भएको देउवाको भनाइ छ ।
सभापति देउवाले जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य भएको बताए । त्यसका लागि संघीय लोकतन्त्रलाई अझ मजबुत बनाउनुपर्ने उनको भनाइ छ । प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिद भएकाहरूले देखाएको बाटोमा सबै हिँड्न जरुरी रहेको देउवाले उल्लेख गरे ।
नेपाली कांग्रेसका पूर्वउपसभापति एवं नेता विमलेन्द्र निधिले पनि दिवंगत ठाकुरको सपना साकार पार्न संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन जरुरी रहेको बताए ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपाली कांग्रेसले नै मुलुकमा विकासका ठूला परियोजनाको निर्माण गर्नुका साथै जनताको अधिकार प्राप्तिमा योगदान पुर्याएको चर्चा गरे।
२५ लाख रूपैयाँ लागतमा दिवंगत नेता ठाकुरको प्रतिमा निर्माण गरिएको बताइएको छ।