०६ साउन २०८३, बुधबार
सहकारी ठगी प्रकरण

रविलाई बयानका लागि आज काठमाडौं ल्याइँदै

मंसिर ११, २०८१
काठमाडौं
रविलाई बयानका लागि आज काठमाडौं ल्याइँदै

सहकारीको रकम अपचलन आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज (मंगलबार) काठमाडौं ल्याइने भएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको समेत रकम अपचलन गरेको आरोप छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकारीका अनुसार लामिछानेलाई आज जहाजमार्फत् काठमाडौं ल्याउने तयारी गरिएको हो । सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते अपराध गरेको आरोपमा रवि कास्की प्रहरीको हिरासतमा छन् ।  

आइतबार मात्रै कास्की जिल्ला अदालतले रविलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । रवि जोडिएको गोर्खा मिडियामा स्वर्णलक्ष्मीबाट २ करोड २८ लाख ९८ हजार ४८० रूपैयाँ पेश्कीबापत गएको देखिन्छ । 

त्यतिमात्रै होइन, स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुईपटक ऋण लिएको देखिन्छ । 

उनीहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रूपैयाँ चुक्ता गर्न बाँकी छ ।

त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रूपैयाँ तिर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते अपराध गरेको आरोपमा लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । रविलाई यसअघि भैरहवा लगेर बयान लगिएको थियो । उनीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्