२३ असार २०८३, मंगलबार
सहकारी ठगी प्रकरण

काठमाडौंमा रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान

मंसिर ११, २०८१
काठमाडौं
काठमाडौंमा रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध काठमाडौं प्रहरीले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । 

कास्कीमा चारवटा मुद्दा खेपिरहेका रविलाई स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान गर्न काठमाडौं ल्याउने प्रहरीको तयारी छ । स्वर्णलक्ष्मी सहकारीबाट पनि गोरखा मिडियामा रकम गएको देखिन्छ । 

रवि जोडिएको गोरखा मिडियामा स्वर्णलक्ष्मीबाट २ करोड २८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ पेस्कीबापत गएको देखिन्छ । स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुईपटक ऋण लिइएको थियो ।

उनीहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रुपैयाँ चुक्ता गर्न बाँकी छ । त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रुपैयाँ तिर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष समेत रहेका छविले स्वर्णलक्ष्मीबाट १ करोड १८ लाख २८ हजार १ सय १० रुपैयाँ पेस्कीबापत लिएको देखिन्छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंले छविलाई यसअघि नै कास्कीबाट झिकाएर बयान लिइसकेको छ । सरकारी वकिल कार्यालय काठमाडौंमा बयान सकाएर उतै पठाइसकिएको छ । 

स्वर्णलक्ष्मी सहकारीको रकम गोरखा मिडियामा जानु, रवि र जीबी मिलेर संयुक्त नाममा गाडी खरिद गर्नु र छविले समेत स्वर्णलक्ष्मीबाट ऋण लिएको देखिनुले संगठित अपराधको मुद्दा पनि आकर्षित हुने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । 

गोरखा मिडियामा रहँदा जीबी, रवि र छविको नाममा ग्लोबल आईएमई बैंकमा संयुक्त खाता सञ्चालनमा थियो ।

सहकारीको ६५ करोड ५४ लाख रुपैयाँ गोरखा मिडियामा ल्याएर अपचलन हुँदा २५ करोडको चेकमा रविकै हस्ताक्षर प्रयोग भएको छ । त्यस्तै, गोरखा मिडियाबाट रवि आफैंले पनि पेस्कीबापत रकम लिएका छन् । 

गोरखा मिडिया नेटवर्कबाट रविले ऋण तथा पेस्कीबापत २ करोड लिएको देखिन्छ । छविले भने ५ करोड ५५ लाख २२ हजार ७ सय १४ रुपैयाँ ऋण तथा पेस्की लिएका छन् । 

‘रवि र छविले गोरखा मिडिया नेटवर्कबाट लिएको ऋण नै सहकारीबाट भित्रिएको रकम भएको दाबी हामीले गरेका छौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘स्वर्णलक्ष्मीबाट लिइएको ऋण त अझै तिर्नै बाँकी देखिन्छ ।’

कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की पुर्‍याइएका रविले कास्की प्रहरीको हिरासतमा ३८ दिन बिताइसकेका छन् ।

कास्की प्रहरीको समन्वयमा रविमाथि अनुसन्धान गर्न केन्द्रबाटै प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा प्रहरी टोली खटिएको छ । 

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले कास्की प्रहरीको समन्वयमा आफ्नो प्रहरी टोलीले अनुसन्धान गरिरहेको बताए ।

उनले भने, ‘हाम्रो टोली उतै छ, प्रमाण संकलन गरिरहेको छ, बयान लिने काम भइरहेको छ ।’ 

थापाका अनुसार काठमाडौं प्रहरीले स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धान गरिरहेकाले उसले सरकारी वकिल कार्यालय लगेर बयान लिएर पुनः कास्की नै पठाउने छ । 

salt training

कमेन्ट गर्नुहोस्