
एसीसी यू–१९ एसिया कपमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सफलताको शुभकामनासहित बिदाइ गरेको छ ।
क्यानद्वारा आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन् ।
एसिया कप यही मङ्सिर १४ देखि २३ गतेसम्म हुँदैछ ।
उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् ।
नेपालले प्रतियोगिता उद्घाटनकै दिन श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै नेपालले दोस्रो खेल १६ गते बङ्गलादेशसँग खेल्नेछ भने तेस्रो खेल १८ गते अफगानिस्तानसँग खेल्ने छ ।

टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् भने सहायक प्रशिक्षकमा धीरेन्द्र चन्द छन् ।
मुख्य प्रशिक्षक गौचनले नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
नेपाली टोलीको कप्तानमा हेमन्त धामी छन् भने उपकप्तानमा अर्जुन कुमाल छन् ।
त्यस्तै टोलीको अन्य सदस्यमा आकाश त्रिपाठी, रञ्जित कुमार, उत्तम थापामगर, मायन यादव, नरेन साउद, युनिशविक्रमसिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल र अभिषेक तिवारी छन् ।