
इजरायल र लेबनानस्थित अतिवादी संगठन हिजबुल्लाहबीच अमेरिकी मध्यस्थतामा भएको 'युद्धविराम सम्झौता'को मस्यौदामा इजरायली वार क्याबिनेटले मंगलबार मतदान गर्ने भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस सम्झौतालाई सैद्धान्तिक सहमति दिइसकेको फर्स्ट पोस्टले जनाएको छ ।
यो सम्झौता दुई महिनाको युद्धविरामबाट हुन्छ, जसअन्तर्गत इजरायली सेना दक्षिण लेबनानबाट फिर्ता हुनेछन् र हिजबुल्लाहले लितानी नदीको दक्षिणी सीमामा आफ्नो सशस्त्र उपस्थिति हटाउनेछ ।
युद्धविराम सम्झौताको कार्यान्वयनपछि यस क्षेत्रमा लेबनानी सेना र पहिलेबाट तैनाथ संयुक्त राष्ट्रसंघीय पर्यवेक्षक सेनाले संयुक्त रूपमा सुरक्षा दिनेछन् । साथै, लेबनानी नागरिकलाई उनीहरूले युद्धका कारण छोडेका गाउँघरमा फिर्ता जाने अनुमति हुनेछ ।
सम्झौता कार्यान्वयनको निगरानी गर्न एउटा अन्तर्राष्ट्रिय समिति गठन हुनेछ, जसलाई अमेरिकाले नेतृत्व गर्ने बताइएको छ ।
फ्रान्स पनि यो प्रक्रियामा सहभागी हुनेछ । तर, इजरायल र लेबनानबीच समिति गठनका विषयमा मतभेद देखिएको छ । इजरायलले फ्रान्सलाई विश्वास नगरेको बताएको छ भने लेबनानले बेलायतलाई यस समितिमा सामेल गर्न अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सम्झौतामा हिजबुल्लाहलाई हतियार उत्पादन र खरिदमा कडाइ गर्ने शर्त लगाइएको छ । जसका लागि लेबनान सरकारले निगरानी गर्ने प्रतिवद्धता जनाएको छ ।
इजरायलले भने आफूले तत्काल खतराको संकेत देखेमा लेबनानमा कारवाही गर्ने अधिकार चाहेको छ भने लेबनानले त्यसले आफ्नो सार्वभौमसत्तामाथि आँच पुर्याउने भन्दै अस्वीकार गरेको छ ।
यस सम्झौताबारे नेतान्याहुले लडाइँको अन्त्य नै नभएको तर अस्थायी युद्धविराम भएको प्रतिक्रिया दिएका छन् ।
कतिपय इजरायली अधिकारी र नागरिकले यो सम्झौतामा असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिरले यसलाई 'ऐतिहासिक गल्ती' भनेका छन् ।
अधिकांश इजरायली नागरिकले हिजबुल्लाहलाई पूर्णरूपमा समाप्त नगरी सम्झौता गर्नु उचित नहुने प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।
युद्धविरामले लेबनान र इजरायलको सीमा क्षेत्रमा केही समयका लागि शान्ति ल्याउन सक्नेछ । तर, यो सम्झौताले गाजा क्षेत्रमा इजरायल-हमास संघर्षमा के असर पार्नेछ, अझै स्पष्ट छैन ।
केही कूटनीतिज्ञहरूले अहिले सम्झौता नभएमा यो द्वन्द्व सिरिया र इराकसम्म फैलन सक्ने चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रसंघका सिरियाका विशेष दूत गियर पेडरसनले गाजा र लेबनानमा युद्धविराम आवश्यक रहेको र यसले सिरियालाई द्वन्द्वमा तानिनबाट रोक्न सक्ने बताएका छन् ।