
सभामुख देवराज घिमिरे कम्बोडियाको पाँच दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुख घिमिरे थाई एयरको जहाजबाट मंगलबार साँझ ८ बजे काठमाडौं ओर्लिएका हुन् ।
सभामुखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीले स्वागत गरे । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को ११ औं पूर्ण सत्रमा सहभागी हुन गएका सभामुख घिमिरेले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट गरेका थिए ।
सभामुख घिमिरेले कम्बोडिया भ्रमण सफल रहेको बताउँदै नेपालको शान्ति प्रक्रियाको उपलब्धी विश्वभर प्रवर्द्धन गर्न सफल भएको उल्लेख गरे । ‘नेपाल विश्वभरका जनताहरू शान्ति, समृद्धि र मेलमिलापमा जीवन बिताऊन् भन्ने चाहन्छन्,’ विमानस्थलमा सभामुख घिमिरेले भने, ‘नेपालले दशक लामो गृहयुद्धलाई शान्तिपूर्ण वार्ताबाट टुंगोमा पुर्याएको उपलब्धी विश्वका अन्य देशलाई पनि प्रेरणादायी बन्न सक्दछ । नेपालको मौलिक शान्ति प्रक्रियाको सफलता प्रवर्द्धन गर्न भ्रमण सफल भएको छ ।’
कम्बोडिया पनि नेपालजस्तै घरेलु द्वन्द्वलाई शान्तिपूर्ण तवरले अन्त्य गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताउँदै सभामुख घिमिरेले मेलमिलापबाटै पुनर्निर्माण र समृद्धि सम्भव हुने धारणा राखे । उनले युद्धबाट बाहिर निस्कँदै सीमित कम्बोडियाली नेताहरूले शुरू गरेको समृद्धि यात्राबाट पाएको सफलता नेपालका लागि सिकाइको विषय हुने समेत बताए ।
आफूले विश्व समुदायलाई राजनीतिक संवाद, समावेशिता र मेलमिलापबाटै शान्ति स्थापना गर्न सकिने धारणा राखेको सभामुख घिमिरेले उल्लेख गरे ।
सभामुखले कम्बोडियाको सरकारले नेपालप्रति देखाएको सकारात्मक भावनाको उच्च कदर गरे । सरकार–सरकार र जनस्तरबाट पनि दुई देशबीच व्यापार लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने उनको भनाइ छ ।
कम्बोडियामा रहँदा सभामुख घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट, माथिल्लो सदन सिनेटका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री सम्देच हुन सेन, कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष खुऔन सुदारीसँग भेट गरेका थिए ।
उनले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को ११ औं पूर्ण सत्रमा सम्बोधन गरेका थिए ।