
मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ ।
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनका लागि गतवर्ष आह्वान भएका सबै बोलपत्र रद्द गरिएको थियो ।
एमसीए–नेपालले २०८० असोज २६ गते एक सूचना जारी गर्दै विद्युत् प्रसारण लाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो ।
यसमा चरण (लट–१)को लप्सीफेदी–रातामाटे–न्यु हेटौंडा, दोस्रो चरण (लट–२)को रातामाटे–न्यू दमौली, र तेस्रो चरण (लट–३) को न्यु दमौली– न्यु बुटवलसम्मको प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द भएको उल्लेख थियो ।
न्यु बुटवल–नेपालरभारत सीमा क्षेत्रको प्रसारण लाइनका लागि भने यसअघि नै ठेक्का प्रक्रिया शुरू भइसकेको छ ।
लप्सीफेदी – रातमाटे –नयाँ हेटौंडा, रातमाटे – नयाँ दमौली र नयाँ दमौली – नयाँ बुटवल गरी तीन वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको छ ।
एमसीए–नेपालले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनः आह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माण स्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको छ । यी समायोजनले थप कार्यान्वयन योग्य र लागत–प्रभावकारी प्रस्तावहरू प्राप्त हुने सुनिश्चित गर्दै अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूलाई सम्बोधन गरेका छन् ।'
एमसीए–नेपालले बुटवल– गोरखपुर प्रसारण लाइन अन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारण लाइन निर्माणका लागि एक सय २३ दशमलव ६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ साल भदौ १४ गते गरिसकेको छ । उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण गरिनेछ ।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले निर्माणाधीन प्रसारण लाइनमध्ये १८ किलोमिटर खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको वर्तमान अवस्थामा परिमार्जित प्रावधानका कारण बाँकी दुई सय ९७ किमी प्रसारण लाइन निर्माणका लागि बोलपत्र प्रक्रिया सहज रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
यो प्रक्रियामा बोलपत्रदाताको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पर्धात्मक बोलपत्रहरू आकर्षित हुने कुरामा एमसीए–नेपाल विश्वस्त रहेको उनले बताए ।