२८ जेठ २०८३, बिहीबार

सौर्य एयरलाइन्स विमान दुर्घटनाः क्षतिपूर्ति नपाएको भन्दै पीडित परिवारले गुहारे संसदीय समिति

मंसिर १२, २०८१
काठमाडौं
सौर्य एयरलाइन्स विमान दुर्घटनाः क्षतिपूर्ति नपाएको भन्दै पीडित परिवारले गुहारे संसदीय समिति

गत साउन ९ गते भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका आफन्तका परिवारले क्षतिपूर्ति नपाएको भन्दै संसदीय समिति गुहारेका छन् । 

विमान दुर्घटनामा आफ्नो छोरी प्रिजा खतिवडा, ज्वाई मनुराज शर्मा र नाति अधिराज शर्मा अर्याललाई गुमाएका सप्तरीको कञ्चनरूप नगरपालिका-७ का प्रकाशकुमार खतिवडाले न्यायका लागि अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

दुर्घटनाको चार महिना बितिसक्दा पनि पीडित परिवारले न्याय पाउन नसकेको र सम्बन्धित निकायले जिम्मेवारी बहन नगरेको भन्दै उनले समितिका सभापति राजकिशोर यादवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

दुर्घटना भएको चार महिनासम्म पनि सौर्य एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण र प्रभु इन्सुरेन्सले पीडित परिवारको निवेदनको उचित सुनुवाइ नगरेको उनले दाबी गरेका छन् ।

उनले जहाज दुर्घटनाको दोषीहरूलाई कानूनी कारबाही गरिनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिनुपर्ने र निष्पक्ष आयोग गठनगरी घटनाको पुनः अनुसन्धान गरिनुपर्ने माग गरेका छन् ।

गत साउन ९ गते सौर्यको दर्ता नम्बर ‘९एन–एनएमई’ भएको ‘सीआरजे–२००’ सिरिजको जहाज टेकअफ गर्नासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।

क्याप्टेन मनिषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो । जहाज उडेको २० सेकेन्डमै दाहिनेतर्फ कोल्टिँदै भुइँमा बजारिएको थियो ।
 

 

salt training

कमेन्ट गर्नुहोस्