
एक महिलालाई खाजा खुवाउने बहानामा लुटपाट गरेको आरोपमा दुई महिला र दुई पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका-७ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-६ बस्ने २७ वर्षीय चेतबहादुर विक, सोही ठाउँकी २५ वर्षीया सानु कोइराला विक, दोलखाको जिरी घर बताउने हाल मध्यपुर ठिमी-६ सिद्दिकाली बस्ने १९ वर्षीया माया भन्ने सविता कोइराला विक र नुवाकोटको सूर्यगढी गाउँपालिका-५ घर भई हाल मध्यपुर ठिमी नगरपालिका-६ बाखा बजारमा सुनचाँदी पसल गर्दै आएका ४४ वर्षीय राजिन सुनार रहेका छन् ।
पक्राउ परेकामध्ये सानु र सविताले भक्तपुर नगरपालिका-१० मालपोत कार्यालय नजिक खाली चौरमा बसिरहेको अवस्थामा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-३ घर भई हाल भक्तपुर नगरपालिका-२ महाकाली कुनाटोल डेरा गरी बस्ने ५५ वर्षीया सीता थापा भन्ने रेनुका नेपालीलाई खाजा खान लैजाने प्रलोभन देखाउँदै होटलमा लगेका थिए ।
होटलमा लगेर उनीहरूले रेनुकालाई अत्यधिक मादक पदार्थ सेवन गराई, अर्धचेत बनाएर रातिको अन्दाजी ०८:३० बजेको समयमा भक्तपुर नगरपालिका-६ स्थित कार्साङ कुसुन खोलाको छेउ एकान्तमा लगेका थिए । त्यहाँ लगेर हात-खुट्टा बाँधी मुखमा कपडा कोची हार गुहार गर्न नसक्ने पारी रेनुकाले लगाएको सुनको गरगहना तथा प्रयोग गर्ने मोबाइल समेत लुटपाट गरेका प्रहरीले जनाएको छ । घटना यही मंसिर १० गतेको हो ।
घटनाबारे जानकारी पाउनेबित्तिकै पुगेको प्रहरीले उनीहरूलाई मंसिर ११ मा भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेकामध्ये सुनचाँदी पसलका सञ्चालक सुनारले लुटपाट गरेको सुन किनेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी, काजी कुमार आचार्यले जानकारी दिए ।
पक्राउ परेकाहरूको साथबाट नगद एक लाख १३ हजार रूपैयाँ, पीडित महिलाको अन्दाजी १० लालको सुनको मुन्द्रा २ थान, अन्दाजी २१ लाल तौल भएको सुनको मुन्द्रा २ थान (लुटपाट गरेको सुन बिक्री गरेको रकमबाट खरिद गरेको), स्वरूप परिवर्तन गरेको अवस्थाको सुन १ तोला ६ लाल, लुटपाट गरेको सामसङ कम्पनीको मोबाइल एक थान, पक्राउ परेका व्यक्तिहरूले प्रयोग गर्ने विभिन्न कम्पनीका मोबाइल ४ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।