
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले आज साँझ ५ः१४ बजे बुद्ध एयरको विमानबाट लामिछानेलाई काठमाडौँ पठाइएको जानकारी दिए ।
काठमाडौँ ल्याइएसँगै उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ । उनलाई कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई राखिएको ठाउँमा राखिएको बताइएको छ ।
लामिछानेविरूद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ भने सोहीसम्बन्धमा बयान लिइनेछ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । उनलाई बयानका लागि यसअघि रुपन्देही लगेर पुनः पोखरा फर्काइएको थियो ।
जिल्ला अदालत कास्कीको आदेशबाट पटक–पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।