३१ जेठ २०८३, आइतबार

यी हुन् काठमाडौँका ७ चर्चित चुनावी नतिजा : नानीमैया  दाहालदेखि रन्जु दर्शनासम्म

कात्तिक २६, २०७४
यी हुन् काठमाडौँका ७ चर्चित चुनावी नतिजा : नानीमैया  दाहालदेखि रन्जु दर्शनासम्म

नानीमैया  दाहाल : २०३८
काठमाडौंका मतदाताको मनोविज्ञान बयान गर्ने सबैभन्दा पुरानो, तर सटिक उदाहरण हो आमनिर्वाचन–२०३८ । पञ्चायतका धुरन्धर जोगमेहर श्रेष्ठले २९ हजार मत ल्याउँदा त्यसअगाडि नामै नसुनिएकी नानीमैया दाहालले ६५ हजार ७ सय मत ल्याएर विजयी भएकी थिइन् ।

राष्ट्रिय पञ्चायत निर्वाचनका लागि काठमाडौंबाट सर्वाधिक मत ल्याउने दुईजना निर्वाचित हुने व्यवस्थाअनुसार जोगमेहर पनि रापंस भए । र, पछिसम्म राजनीतिमा रहे । तर, देशको राजधानीकी सर्वाधिक लोकप्रिय नेतृ कुन गल्लीबाट आएकी थिइन् र कथा हराइन् कसैलाई पत्तो छैन ।

मंगलादेवी सिंह : २०४८

०४६ सालको जनआन्दोलनका नायक गणेशमानसिंहकी जीवनसंगिनी मात्र होइन आन्दोलनकै एक सारथि थिइन् मंगलादेवी सिंह । तर, सफल जनआन्दोलनलगत्तै भएको निर्वाचनमा काठमाडौं–३ का मतदाताले मंगलादेवीलाई पराजित गरे । सँगै काठमाडौं ४ बाट उनका छोरा प्रकाशमान पनि पराजित भएपछि गणेशमानले भने– ‘काठमाडौंका जनता भेडा हुन् ।’

कृष्णप्रसाद भट्टराई : २०४८

०४६ सालको आन्दोलनपछि ०४७ सालमा संविधान जारी गर्दाका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौं १ का जनताले पराजित गराए । उनी ०४८ मा एमाले महासचिव मदन भण्डारीसँग पराजित भए । मदनको निधनपछि ०५० सालको उपनिर्वाचन र ०५१ को मध्यावधि निर्वाचनमा विद्या भण्डारीसँग पराजित भट्टराईलाई काठमाडौंले कहिल्यै पनि सांसद बन्न दिएन । ०५६ मा पर्सा पुगेपछि मात्र सांसद बन्ने उनको सपना साकार भयो ।

कीर्तिनिधि विष्ट : २०५१
०१५ सालको आमनिर्वाचनबाट दुईतिहाइ मत ल्याएर प्रधानमन्त्री भएका बिपी कोइरालालाई गिरफ्तार गरेर जेल हाल्ने राजालाई समर्थन गर्दै सातपटक मन्त्री, दुईपटक उपप्रधानमन्त्री, दुईपटक प्रधानमन्त्री र राजाको मन्त्रिपरिषद्को उपाध्यक्षसमेत भएका कीर्तिनिधि विष्टले दुईपटक मात्र निर्वाचनमा उठ्ने कोसिस गरे ।

०५१ को निर्वाचनमा काठमाडौं ३ मा उम्मेदवार बनेका उनले ११८० मत ल्याए । ०५६ मा फेरि प्रयास गर्दा उनको मत ३६५ मा सीमित रह्यो । तैपनि राजाले सत्ता हातमा लिएपछि उनी शक्तिमा आए ।

झक्कु सुवेदी : २०६४

सशस्त्र द्वन्द्वलगत्तै ०६४ सालमा भएको निर्वाचनमा एमालेका शक्तिशाली महासचिव माधवकुमार नेपालले काठमाडौं २ बाट अनपेक्षित हार सामना गर्नुपर्‍यो ।

रोल्पा जिविसका पूर्वसभापति झक्कु सुवेदीले अचानक काठमाडौंबाट जितेर सनसनी मच्चाए । सो निर्वाचनमा एमाले उपत्यकाका १५ वटै सिटमा पराजित भयो । झक्कु यसपालि काठमाडौं ६ बाट उम्मेदवार छन् र माधव नेपाललाई काठमाडौं २ मा माओवादीको साथ छ ।

राजेन्द्र केसी : २०७०

०६४ को निर्वाचनमा २३ हजार २७७ मत ल्याएर माओवादी अध्यक्ष प्रचण्ड विजयी हुँदा काठमाडौं १० मा उनका प्रतिस्पर्धी राजेन्द्र केसीले १२ हजार १५४ मत ल्याएका थिए ।

तर, ०७० को निर्वाचनमा प्रचण्डले १२ हजार ८५९ मत ल्याउँदा कांग्रेसका राजेन्द्रले २९ हजार ३९२ मत ल्याए । ०६४ को निर्वाचनमा काठमाडौंका चार निर्वाचन क्षेत्र जितेको माओवादीले ०७० मा शून्य सिटमा चित्त बुझाउनुपर्‍यो ।

रञ्जु दर्शना : २०७४

२० वर्षपछि आह्वान भएको गत स्थानीय निर्वाचनमा काठमाडौंको मेयरका लागि राष्ट्रिय दल र राष्ट्रिय व्यक्तित्वबीच कडा प्रतिस्पर्धा भएको थियो । तर, योबीचमा २१ वर्षकी युवती रञ्जु दर्शनाले २३ हजार मत ल्याएर सबैलाई चकित बनाइन् ।

उनले निर्वाचित विद्यासुन्दर शाक्यको तुलनामा एकतिहाइ मात्र ल्याएकी हुन् । तर, माओवादी उम्मेदवारले जमानत पनि जोगाउन नसकेको यो निर्वाचनमा अर्का चर्चित उम्मेदवार तथा पूर्वसचिव किशोर थापाले भन्दा पनि रञ्जुले धेरै मत ल्याएकाले उनको चर्चा धेरै भयो , नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्