
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेमा विश्वस्त हुन आग्रह गरेका छन् ।
शुक्रबार भैरहवास्थित लुम्बिनी नेत्र विज्ञान संस्थान श्री रण अम्बिका शाह आँखा अस्पतालको ४२ औं अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘यो बुद्धभूमि हो, त्यसैले हामीले यहाँबाट एकता र शान्तिको सन्देश संसारभर फैलाउन सक्नुपर्छ, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुने हो कि भन्ने आशंका नराख्न आग्रह गर्दछु,’ उनले भने ।
विमानस्थल निर्माण शुरू भएदेखिनै विभिन्न आलोचनाहरू झेल्दै आएको बताउँदै उनले पछिल्लो समय विमानस्थल नियमित सञ्चालन हुँदैन भन्ने कुरा आइरहेको बताए ।
तर कुनै हालतमा विमानस्थल सञ्चालन गरेरै छाड्ने उनले बताए ।
रुपन्देहीबाट संसारभर शान्तिको सन्देश फैलाउन पनि यो आवश्यक रहेको पौडेलले बताए । बुद्ध जन्मस्थल लुम्बिनी रुपन्देहीमा रहनु गौरवको विषय भएको बताउँदै उनले यहीबाट विश्वलाई नै शान्तिको सन्देश फैलाउनुपर्ने उल्लेख गरे ।
उनले रुपन्देहीबासीलाई विरोध र असन्तुष्टिमा लागेर समय खेर नफाल्न आग्रह गरे । ‘हामी सकारात्मक चिन्तन, नवीन सोचमा लागौं, तर विरोधका लागि विरोध गरेर समय खेर नफालौं’, अर्थमन्त्री पौडेलले भने ।
बुद्धभूमि गौतम बुद्धको जन्मस्थलबाट हामी बुद्धका सन्तान हौं भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा उनले जोड दिए । ‘हामीले एउटा संकल्प गरौं, नकारात्मक सोचबाट माथि उठौं,’ उनले भने ।
रुपन्देही जिल्लाले शान्तिको सन्देश, एकताको सन्देश, सकारात्मक विचारको सन्देश देशमा र विश्वभर प्रवाह गर्नुपर्ने अर्थमन्त्री पौडेलले जनाए । अर्थमन्त्री पौडेलले आँखा अस्पतालले लुम्बिनी प्रदेशसहित पश्चिम नेपालमै उत्कृष्ट सेवा प्रवाह गरिरहेको बताए ।