
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सम्बद्ध सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने बताएकी छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ भनिन्, 'बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ । हाल यसको कार्यान्वयन योजनाबारे छलफल जारी छ । यो नेपाल र चीनबीचको सहमति र समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिका आधारमा कार्यान्वयन हुनेछ ।'
एक प्रश्नको जवाफमा मन्त्री डा देउवाले अहिले नेपाल ऋण लिने अवस्थामा नरहेकाले चीन सरकारसँग यसै विषयमा छलफल भएको बताइन्। 'यो परियोजना अनुदानमा कार्यान्वयन गर्न नेपाली कांग्रेसले औपचारिक निर्णय गरिसकेको छ । यो सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई अवगत छ । अनुदानमा नै यो परियोजना कार्यान्वयन गर्न हामीले छलफलहरू गरिरहेका छौं', परराष्ट्रमन्त्री देउवाले भनिन् ।
नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ एवं सम्बन्ध रहेको र यो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबीच समय–समयमा हुने उच्चस्तरीय भ्रमणको आदानप्रदानले महत्वपूर्ण योगदान भएको चर्चा गर्दै उनले आफ्नो यो भ्रमण पनि त्यसैको निरन्तरता रहेकी बताइन् । आफ्ना चिनियाँ समकक्षीसँग शुक्रबार भएको भेटवार्ता द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा केन्द्रित रहेको उनले जानकारी दिइन् ।
दुवै देशमा विद्यमान अवसर र सम्भावनाहरूलाई आपसी हितका लागि भरपूर सदुपयोग गर्दै सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको उनको भनाइ छ । चिनियाँ विदेशमन्त्रीसँग आफूले चीनसँगको व्यापार, पर्यटन, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक– सामाजिक साझेदारी वृद्धिमा जोड दिएको उनले बताइन् । चिनियाँ पक्षले पनि प्रस्तुत धारणाप्रति सकारात्मक जवाफ दिएको परराष्ट्रमन्त्री देउवाले बताइन् ।
साथै, उनले द्विपक्षीय सम्झौता तथा समझदारीलाई तदारुकताका साथ कार्यान्वयन गर्ने सहमति भएको बताइन्। यो भ्रमणबाट आपसी विश्वास अभिवृद्धि गर्न मद्दत पुगेको परराष्ट्रमन्त्री देउवाको भनाइ छ ।