
‘राडार गन’बाट सवारीको तीव्र गति मापन गर्दा ट्राफिक प्रहरीको गम्भीर लापरवाही भेटिएको छ । शुक्रबार अपरान्ह ललितपुर महानगरपालिका–१५ चक्रपथ सडकस्थित बीएण्डबी अस्पताल नजिकै ट्राफिक प्रहरीले गरेको ‘स्पीड चेकिङ’ स्थलमा दुर्घटना हुँदा एक युवतीले ज्यान गुमाएकी छन् ।
ट्राफिक प्रहरीले मोटरसाइकल रोक्न खोज्दा भएको दुर्घटनामा मोटरसाइकल पछाडी बसेकी तनहुँ भीमादकी १६ वर्षीया स्नेहा बस्यालको मृत्यु भएको हो । प्रदेश–३–०२ ००५ प २६४२ नम्बरको आर–१५ यमाहा मोटरसाइकल अनियन्त्रित हुँदा बस्यालको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी शेखर खनालले बताए।
पेप्सीकोला बस्दै आएकी बस्यालको उपचारका क्रममा ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–४ घर भएका २८ वर्षीय प्रत्युस थापा गम्भीर घाइते छन् । उनको बीएण्डबी अस्पतालको आईसीयूमा उपचार चलिरहेको छ । थापाको टाउकोमा गम्भीर चोट लागेको छ ।
ओभर स्पीडमा रहेको मोटरसाइकललाई ट्राफिकले रोक्न खोज्दा थापा र बस्याल सवार मोटरसाइकल सडकको रेलिङमा ठोक्किएको थियो । ट्राफिक प्रहरीका अनुसार चालकले मोटरसाइकल ९९ को स्पीडमा हाँकेका थिए । मोटरसाइकलको ठक्करबाट ट्राफिकका सहायक हवलदार जनक सिंह भाट पनि गम्भीर घाइते भएका छन् । उनको नेपाल प्रहरी अस्पतालमा उपचार हुँदैछ ।
गत साउनमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । साउन ३१ गते भक्तपुरको गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिहेका बेला दुर्घटना भएको थियो । बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई बीच सडक रोक्न लगाएपछि अनियन्त्रित भएर स्कुटर सडकमा पल्टिएको थियो । पछाडीबाट आएको ना ६ ख २१७३ नम्बरको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर थियो । तीब्र गतिको ट्रकले स्कुटरलाई सय मिटर भन्दा परसम्म लतारेर लगेको थियो । दुर्घटनामा चालक ओखलढुंगाका उत्तम कोइरालाको मृत्यु भएको थियो ।
ट्राफिक प्रहरीले चालकलाई सडक नियम सिकाउने भन्दा पनि राजश्वमूखी हुँदा दुर्घटना निम्तिने गरेको विज्ञहरू बताउँछन् । रिङरोडमा स्पीड गनमार्फत दैनिक ४ ठाउँमा ‘चेक प्वाइन्ट’ राखेको देखिन्छ । यी बाहेक राजश्व उठाउनकै लागि ट्राफिक प्रहरीले उपत्यकामा दैनिक ३५ देखि ४० स्थानमा चेक प्वाइन्ट राख्दै आएको छ ।
ट्राफिक प्रहरीका प्रवक्ता, एसएसपी उमा प्रसाद चतुर्वेदीका अनुसार शुक्रबारको घटनामा चालक थापाले ट्राफिकको ‘चेक प्वाइन्ट’ छलेर भागेका थिए । पुनः ‘युटर्न’ गरेर हिड्ने क्रममा उनी रेलिङमा ठोक्किएको एसएसपी चतुर्वेदीले बताए ।
‘सडकमा ट्राफिक उभिएन भने ट्राफिक खै भनेर सोध्छन् । ट्राफिकले इसारा एवं संकेत गरेर सवारी रोक्न खोज्यो भने चालक उम्किएर भाग्छन्, दुर्घटना निम्तिन्छ,’ चतुर्वेदीले लोकान्तरसँग भने,‘उपत्यकामा हुने गरेका अधिकांश दुर्घटना तीव्र गतिमा सवारी हाँक्दा भएको देखिन्छ । ट्राफिकले दुर्घटना न्यूनीकरणका लागि चेक प्वाइन्ट राख्दै आएको छ ।’
स्पीड राडार गन लिएर बस्ने ट्राफिक प्रहरी सिधा सडकमा नबसेर घुम्ती तथा मोड सकिने बित्तिकै भेटिने सडकमा बसेका हुन्छन् । तीव्र गतिमा हाँक्ने चालकलाई ‘पासो’ थापेर रोक्ने र चिट काट्ने प्रवृत्ति नरोकिँदासम्म दुर्घटना न्यूनीकरण नहुने बताउँछन्, पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी ।
‘एकातिर नियम उल्लंघन गरेर ट्राफिक प्रहरीको आँखा छल्दै भाग्ने र अर्कोतिर धराप थापेको शैलीमा ट्राफिकले चेक प्वाइन्ट राख्नु दुवै जोखिमपूर्ण देखिन्छ’, पूर्वडीआईजी मल्ल ठकुरी भन्छन् ।
सामान्य सचेत मात्र गराउन सकिने घटनामा पनि जरिवाना तिराउने शैलीले सवारी चालक समेत ट्राफिक प्रहरीप्रति आक्रोशित हुने गरेको बुझाइ ठकुरीको छ ।
गएको एक वर्षमा ट्राफिक प्रहरीको जरिवानाबाट मात्रै १ अर्ब ७५ करोड राजश्व संकलन भएको छ । तर, त्यो रकम सडक बत्ती र सवारी दुर्घटना न्यूनीकरणमा प्रयोग भएको छैन । यसले सरकार राजश्व उठाउन मात्र केन्द्रित भएको दर्शाउँछ ।
पूर्वडीआईजी ठकुरी भन्छन्,‘नेपालमा जरिवाना कम हुँदा पनि नियम उल्लंघनको घटना बढेको छ भने ट्राफिक प्रहरीले पनि आफ्नो चेकिङ शैली फेर्नुपर्ने देखिन्छ ।’