![एनपीएलको भव्य सुरुआत, कीर्तिपुरमा देखियो क्रिकेट क्रेज [फोटो/भिडियो]](https://lktcdn2.prixacdn.net/media/ddr_MCFbdDgBAV.gif)
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको भव्य सुरुआत भएको छ । नेपालमा शनिबारदेखि पहिलोपटक शुरू भएको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपीएलको क्रेज निकै देखिएको छ ।
विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच शनिबार भएको उद्घाटन खेल हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा उल्लेख्य सङ्ख्यामा दर्शक ओर्लिए । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार उद्घाटन खेलका लागि १० हजार टिकट बिक्री भएको थियो । तर, दर्शकको उपस्थिति योभन्दा पनि धेरै देखियो । क्रिकेट मैदानभन्दा बाहिरका रूखमा चढेर समेत दर्शकहरूले क्रिकेटको मज्जा लिए । मैदानबाहिर पनि अग्ला ठाउँहरूमा उल्लेख्य मात्रामा दर्शक थुप्रिएका थिए । आयोजक र सुरक्षाकर्मीलाई दर्शक व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो ।

करोडौं लगानी, विदेशी क्रिकेटरको उपस्थिति, स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति लगायतका कारणले पनि दर्शकमा उत्साह थपिएको देखिन्छ । यसअघिका घरेलु प्रतियोगिताको तुलनामा एनपीएलको उद्घाटन खेलमा दर्शकले भव्य साथ दिए । उसो त आज शनिबार भएर पनि दर्शको भीड बढेको आँकलन गरिएको छ । तर, क्यान भने प्रतियोगिताभरी नै दर्शकको यस्तै साथ पाउने विश्वासमा छ । किनकि यसपछिका धेरै खेलका लागि टिकट सोल्डआउट भइसकेको छ ।
एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र विराटनगर किङ्स गरी आठ टिमले सहभागिता जनाउँदै छन् ।

जसअनुसार शनिबार भएको उद्घाटन खेलबाट जनकपुरले विजयी सुरुआत गरेको छ । जनकपुर ८ विकेटले विजयी भयो । विराटनगर किंग्सले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले १५.३ ओभरमा २७ बल बाँकी छँदै सहज जीत निकाल्यो ।
जनकपुरका लागि लागि मिलान्थाले सर्वाधिक ७५ अविजित रन बनाए । उनले ९ चौका तथा ३ छक्काको मद्दतले ५३ बलमा ७५ रन बनाएर अविजित रहे ।
त्यसैगरी, हर्ष ठाकेर पनि ३३ बलमा २ चौकाको मद्दतले २९ रन बनाएर अविजित रहे । उनीहरूले ११६ रनको साझेदारी गरे । त्यसअघि जनकपुरका ओपनरद्वय कप्तान अनिलकुमार साह र आशिफ शेख सस्तैमा पवेलियन फर्किए ।
पहिलो ओभरको चौथो बलमै आसिफ शेख खाता नखोली आउट भए । विराटनगरका तीव्र गतिका बलर क्रिस सोलको बलमा उनी बोल्ड आउट भए । कप्तान अनिल साह पनि ४ बलमा ५ रन बनाएर आउट भए । प्रतिष जिसीको बलमा उनी आउट भएका हुन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १९ ओभरमा सबै विकेट गुमाएर १२७ रनमा समेटियो । विराटनगरका लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए । उनले ४३ बलमा एक छक्का र सात चौकाको मद्दतले ५५ रन बनाए । गप्टिल आउट भएपछि विराटनगरको इनिङ्ग पूर्ण रूपमा धरमराउन पुग्यो ।
यस्तै, अकिब इलियासले १५, निकोलस किर्टनले नौ र लोकेश बमले पाँच रनको योगदान दिए ।
बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान ७/७ रन बनाए । विराटनगरका लागि क्रिस सोलले चार, प्रतिश जिसीले दुई र राजेश पुलामीले एक रन बनाए भने जितेन्द्र मुखिया शून्य रनमै आउट भए ।
जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै, किशोर महतो र हर्ष ठाकरले समान २/२ विकेट लिए । जनकपुरका मोहम्मद मोहसिन र बेन माइकले समान १/१ विकेट हात झारे ।
१ सय रनको स्कोरमा पाँचौं विकेट, १०३ रनको स्कोरमा छैटौं विकेट, १०४ रनको स्कोरमा सातौं विकेट, ११२ रनको स्कोरमा आठौं विकेट, ११२ रनकै स्कोरमा नवौँ विकेट र १२७ रनको स्कोरमा दसौँ विकेट झर्न पुग्यो ।

जनकपुरका स्पिनर ललित राजवंशी र तीव्र गतिका बलर किशोर महतोको घातक बलिङका सामु विराटनगरको टिम १२७ रनमै समेटिन पुग्यो । महतोले लगातार दुई बलमा दुई विकेट लिए पनि एनपीएलको पहिलो ह्याट्रिक लिनबाट चुके।
प्रतियोगता अन्तर्गत सोमबार बिहान ९:१५ काठमाडौँ गुर्खाज र चितवन राइनोज तथा दिउँसो १:१५ बजे जनकपुर बोल्ड्स र कर्णाली याक्स आमनेसामने छन् । आइतबार कीर्तिपुरमा उपनिर्वाचन भएकाले खेल हुने छैन ।

प्रतियोगितामा सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै पुस ६ गते पहिलो च्याम्पियनको छिनोफानो हुने छ ।
क्यानले सार्वजनिक गरेको तालिका अनुसार मंसिर १७ गते पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्दा दोस्रो खेलमा जनकपुर र कर्णाली याक्स आमने-सामने हुनेछन्। यस्तै, मंसिर १८ गते पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स तथा दोस्रो खेलमा चितवन राइनोज् र पोखरा एभेन्सर्ज भिड्नेछन्।
लिग चरणका खेलहरू पुस १ गतेसम्म चल्ने क्यानले जनाएको छ। क्यानका अनुसार लिगको शीर्ष दुईमा स्थान बनाउने टोलीले सिधै क्वालिफायर खेल्नेछन्।

तेस्रो र चौथो स्थानका टोलीले एलिमिनेटर खेल्नेछन्। एलिमिनेटर खेल पुस २ गते बिहान ९:१५ मा हुनेछ। क्वालिफायरका खेल भने दिउँसो १:१५ बजे हुनेछ। दुवै खेल पुस ३ गते हुने क्यानले जनाएको छ।
क्यानका अनुसार क्वालिफायर १ मा पराजित भएको टोली र एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायर खेल्नेछन्। यो खेल पुस ४ गते दिउँसो १२:१५ मा हुनेछ। फाइनल खेल पुस ६ गते शनिबार दिउँसो १२:१५ मा हुने क्यानले जनाएको छ ।
हरेक टोलीमा कम्तीमा चार र बढीमा छ विदेशी खेलाडी आबद्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म १६ देशका ४० विदेशी खेलाडी एनपीएलमा आबद्ध भइसकेका छन् ।

जसमध्ये भारतका शिखर धवन, न्युजिल्यान्डका मार्टिन गुप्टिल, जिमी निसम, स्कट कुगलेन, इङ्ग्ल्यान्डका रवि बोपारा, अस्ट्रेलियाका बेन कटिङ, वेस्ट इन्डिजका चाड्विक वाल्टन चर्चित खेलाडी हुन् ।
विदेशी क्रिकेटरहरूसँगको सम्झौता रकमबारे खासै खुलाइएको छैन। प्रत्येक टिमका ‘मार्की’ खेलाडीले जनही २० लाख रूपैयाँ प्राप्त गरेका छन् । यसैगरी अन्य घरेलु खेलाडीले अधिकतम १५ लाखदेखि न्यूनतम दुई लाखसम्म पाएका छन् । प्रतिभा खोजबाट छानिएका ‘आइकोनिक’ खेलाडीलाई पनि राम्रो रकम दिइएको छ ।
एनपीएलको उपाधाी चुम्ने टोलीले एक करोड ११ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै, दोस्रो हुने टोलीले ५० लाख, तेस्रोले ३० लाख र चौथोले २० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ ।