
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय मामिलामा साझा राष्ट्रिय दृष्टिकोण तयार गर्ने सुखद् प्रक्रिया आरम्भ भएको बताएका छन् ।
चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का विषयमा सत्तारूढ एमाले र कांग्रेसबीच सहमति जुटेसँगै पोखरेलले यस्तो बताएका हुन् ।
शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा संक्षिप्त वक्तव्य जारी गर्दै महासचिव पोखरेलले बीआरआईको कार्यान्वयनका सन्दर्भमा नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा(एमाले)ले साझा धारणा बनाएको उल्लेख गरेका छन् ।
बीआरआई अन्तर्गतको चिनियाँ सहयोग परिचालनका सन्दर्भमा साझा फ्रेमवर्क तयार भएसँगै परियोजना कार्यान्वयनमा सहजता हुने पोखरेलले विश्वास व्यक्त गरेका छन् ।
'प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा यस विषयले, यस सहमतिले सार्थकता पाएसँगै नेपालको विकासमा चिनियाँ सहयोग परिचालनमा तीव्रता आउनेछ', महासचिव पोखरेलले लेखेका छन्, 'बीआरआईका सन्दर्भमा प्रमुख दलहरूबीचको सहमतिले अन्तर्राष्ट्रिय मामिलामा साझा राष्ट्रिय दृष्टिकोण तयार गर्ने सुखद् प्रक्रिया आरम्भ भएको मान्न सकिन्छ ।'
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्। भ्रमणको एक प्रमुख विषय बीआरआई पनि हो । बीआरआईका विषयमा सत्तारूढ प्रमुख दलबीच रहेका फरक बुझाइलाई साझा पार्ने काम गरेका छन् । यसका लागि कार्यदल नै बनाइएको थियो ।
कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, एमालेबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा थिए ।
कार्यदलले बीआरआई ऋण नभइ अनुदानमा पहल गर्ने समझदारी जुटाएको छ । कार्यदलमा जुटेको सहमतिबारे शनिबार बालुवाटारमा शीर्ष नेताहरूलाई जानकारी समेत गराइएको छ ।