
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिस्थितिले जन्माएको आवश्यकता अनुसार वर्तमान सरकार गठन भएको बताएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले शनिबार आयोजना गरेको छलफल एवं अन्तरक्रियामा उपप्रधानमन्त्री सिंहले देशमा राजनीतिक स्थिरताका लागि पहिलो र दोस्रो ठूलो दल सम्मिलित सरकार बनेको बताएका हुन् ।
प्रमुख ठूला दल कांग्रेस र एमाले पार्टी अरूलाई पनि मिलाएर राजनीतिक स्थायित्व दिन सक्छ कि भन्ने कुराले नै यो समीकरण बनेको उपप्रधानमन्त्री सिंहले स्पष्ट पारे ।
छोटो समयमा सरकार परिवर्तन हुँदा त्यसप्रति जनताले पनि प्रश्न उठाउन थालेको उल्लेख गर्दै उनले नटिक्ने सरकारले हाम्रा लागि के काम गर्छ? टिक्ने सरकार त हुनुपर्यो नि भन्ने जस्ता आवाज जनस्तरबाट आउन थालेको बताए ।
शान्ति सम्झौतालाई कांग्रेसले आँट गरेर नै अघि बढाएको प्रसङ्ग स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थायित्वका लागि नै प्रमुख ठूला दल एकताबद्ध बन्दै अघि बढेको जिकिर गरे । साना दललाई मौका दिँदा कहिले कांग्रेसलाई त कहिले एमालेलाई खेलाएको बताउँदै उनले त्यसले परिणाम दिन नसकेकै कारण राजनीतिक स्थिरता र विद्यमान समस्याको समाधानका लागि अघि बढिएको स्पष्ट पारे ।
वर्तमान सरकार देशका तमाम समस्याको पहिचान गरी एक एक केलाउँदै त्यसको समाधानका लागि अघि बढेको उनको भनाइ छ । सरकार दलहरूबीचकै समझदारीअनुसार अघि बढ्ने र सातबुँदे समझदारीअनुसार सरकार गठन भएको कुरा बहालवाला प्रधानमन्त्रीले स्वयंले भन्दै आएको उल्लेख गर्दै उनले सरकार त्यसअनुरूप नै अघि बढ्ने धारणा राखे ।
कांग्रेसको कुनै नेता तथा कार्यकर्तामाथि प्रश्न उठ्यो भने पार्टीकै कार्यकर्ता वास्तविक कुरा नबुझी हल्लाको पछि लाग्ने गरेको बताउँदै उपप्रधानमन्त्री सिंहले कोही माथि प्रश्न उठ्छ भने विधिको शासनअनुसार कानुनबमोजिम छानबिन भई दोषी भए कारबाही हुने बताए । कांग्रेसकै पार्टीका नेता भ्रष्टाचारको मुद्दामा जेल गएर अहिले राजनीतिमा नै नरहेका उनले उदाहरण दिए ।
पार्टीभित्र पार्टीको नियमअनुसार बस्नुपर्ने उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले नेताहरूले कांग्रेसको चरित्रअनुसार काम गर्नुपर्ने आवश्यकता औंल्याए । पार्टीले गाउँ, पालिका, क्षेत्र र केन्द्रमा बस्नेले तत्तत् ठाउँका विवाद मिलाएर लैजानुपर्ने आवश्यकता औंल्याउँदै उनले पार्टीमा राम्रो व्यवस्थापन गरेर लैजान नसकेको अवस्थामा झन् बिग्रेर जाने चिन्ता व्यक्त गरे ।
कांग्रेस एमाले मिलेर बनेको सरकार भएका कारण प्रधानमन्त्री चीन जाँदा बीआरआईको कार्यान्वयनको सम्झौतामा हस्ताक्षर गर्नु अगाडि केकेमा संशोधन गर्नुपर्छ भन्नेमा साझा अवधारणा बनाइएको उपप्रधानमन्त्री सिंहले जानकारी गराए ।
विकास निर्माणका आयोजनाहरू, जनताका तहमा आदानप्रदानका कुरालगायत साझा कुरा तयार गरेर चीन पठाइएको बताउँदै उनले चीनको के प्रतिक्रिया आउँछ त्यसअनुरूप हुने उल्लेख गरे ।