
न्याय परिषद्मा एक पद रिक्त भएको छ ।
नेपाल बार एसोसिएसनका तर्फबाट सिफारिश गरी नियुक्त भएका परिषद् सदस्य रामप्रसाद श्रेष्ठको पदावधि मंसिर १४ गतेसम्म मात्र रहेकाले १५ गते आइतबारदेखि उक्त पद रिक्त भएको हो ।
नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम २०७७ मंसिर १५ गते श्रेष्ठ न्याय परिषद् सदस्यमा नियुक्त भएका थिए ।
परिषद् प्रधानन्यायाधीशको अध्यक्षतामा ५ सदस्यीय हुन्छ ।
अहिले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत न्याय परिषद्का अध्यक्ष हुन् भने सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र रामप्रसाद भण्डारी सदस्य छन् ।
रिक्त पदमा नेपाल बार एसोसिएसनले मंसिर महिना भित्र नै सिफारिश गर्ने बार अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । 'नेपाल बार एसोसिएसनले यही मंसिर महिना भित्र नै सिफारिश गर्छ,' उनले लोकान्तरसँग भने, 'बारको कार्यसमितिको बैठकबाट नै निर्णय गरेर पठाउँछौं ।'
कसलाई पठाउने भन्ने विषयमा अहिले कुनै पनि चर्चा नभएको उनले बताए ।