
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोग मुद्दा सर्वोच्च अदालतमा पेशी तोकिएको छ। सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको इजलासमा पेशी रहेको छ ।
राहदानी दुरुपयोग मुद्दामा यसअघि अभियन्ता युवराज सफलले महान्यायाधिवक्ताको मुद्दा नचल्ने निर्णय बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
२०७९ चैत २० गते दायर भएको उक्त रिटमा दोस्रो सुनुवाइका लागि पेशी तोकिएको हो । उक्त मुद्दा ३० नम्बरमा पेशी रहेकाले सुनुवाइको पालो पाउने सम्भावना भने न्यून देखिन्छ ।
यसअघि सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरिसकेको छ ।
२०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले २०८० जेठ ९ गते फाइल मगाउने आदेश गरेको थियो । दुवै आदेश न्यायाधीश हरि फुयाँलको इजलासले गरेको हो ।
अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको र उक्त निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइ हुन लागेको हो ।
तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए ।
त्यतिबेलै सफलले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।
उनले रिटमा राहदानी विवादमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश पनि माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।