२२ जेठ २०८३, शुक्रबार

पाकिस्तानको पराचिनार घटना: बढ्दै शियालक्षित हिंसा, धार्मिक अल्पसंख्यकको अस्तित्व संकटमा

मंसिर १७, २०८१
काठमाडौं
पाकिस्तानको पराचिनार घटना: बढ्दै शियालक्षित हिंसा, धार्मिक अल्पसंख्यकको अस्तित्व संकटमा
डिसेम्बर १ मा देखिएको पाकिस्तानको लाहोर शहरको दृश्य । तस्वीरः आरिफ अली, एएफपी/रासस

हालै पाकिस्तानको पराचिनारमा भएको नरसंहारले पाकिस्तानमा धार्मिक अल्पसंख्यकको अवस्था कति दयनीय छ भन्ने देखाएको छ ।

बन्दुकधारीहरूले शिया मुसलमानहरूको एउटा समूहलाई घेराबन्दी गरी आक्रमण गर्दा कम्तीमा ८२ जनाको मृत्यु भयो भने डेढ सय घाइते भए ।

गत नोभेम्बर २१/२२ र २३ मा भएको नरसंहार त्रासदी कुनै एकल घटना मात्र नभएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । यसलाई पाकिस्तानमा दशकौंदेखि चलेको साम्प्रदायिक हिंसा र धार्मिक दमनको एउटा अंगका रूपमा लिइएको छ । यस्ता घटनाका कारण पाकिस्तान अल्पसंख्यकका लागि विश्वकै सबैभन्दा असुरक्षित स्थानहरूमध्ये एक बनेको छ ।

कुर्रम जिल्लामा अवस्थित पराचिनार शिया बाहुल्य भएको प्रमुख क्षेत्र हो । अफगानिस्तानसँगको सिमानामा रहेको यसको रणनीतिक महत्त्वका कारण यो क्षेत्रले बारम्बार साम्प्रदायिक हिंसा भोग्नुपरेको छ ।

पराचिनारको भौगोलिक अवस्थाकै कारण यो समस्याको केन्द्र बन्दै आएको छ । यस क्षेत्रभन्दा टाढाटाढासम्म कुनै अर्को बस्ती नभएकाले यहाँ आतंकवादी समूहले सजिलै हमला गरेर भाग्न सक्छन् । यहाँ राज्यको सुरक्षाकर्मीको उपस्थिति त्यति छैन ।

यस क्षेत्रमा बारम्बार हुने हिंसाका बाबजुद राज्यले यसलाई त्यति महत्त्व दिएको छैन । आर्थिक विकास र सामाजिक सेवाको अभावले यस क्षेत्रमा रहेका शिया समुदायको जीवन झन् कठिन बनेको छ ।

पाकिस्तानमा साम्प्रदायिक हिंसाको इतिहास

पाकिस्तानको स्थापना १९४७ मा भएको भए पनि अल्पसंख्यकहरूमाथि हुने हिंसा र भेदभावको जरा त्यसभन्दा निकै पुरानो छ । पाकिस्तानको कुल जनसंख्याको झण्डै १५ प्रतिशत रहेका शिया मुसलमान सधैँ विभेद र हिंसाको शिकार भइरहेका छन् ।

सन् १९८८ को गिलगिट नरसंहार पाकिस्तानको इतिहासमा एउटा कालो धब्बाको रूपमा चिनिन्छ । पाकिस्तानको गिलागिट प्रान्तमा भएको यस घटनामा सयौं शिया मुसलमान मारिएका थिए । त्यतिबेलै अल्पसंख्यकको सुरक्षामा पाकिस्तान उदासीन र असफल रहेको चर्चा हुने गरेको थियो ।

सन् १९८० को दशकमा जनरल जिया-उल-हकको शासनकालले साम्प्रदायिक विभाजनलाई थप गहिरो बनायो । जिया-उल-हकको 'इस्लामीकरण' नीतिअन्तर्गत राज्य-प्रायोजित धार्मिक अभियानले शियाविरोधी भावना फैलायो । यसले सिपाह-ए-सहाबा पाकिस्तान (एसएसपी) र लश्कर-ए-झांगवी (एलईजे) जस्ता अतिवादी समूहहरूलाई शक्तिशाली बनायो ।

यी संगठनहरूले शियालाई धर्मद्रोही ठान्छन् र खुलारूपमा घृणा एवं हिंसाको वकालत गर्छन् । राज्यको लचिलो नीतिले यस्ता संगठनहरूलाई सजिलै फल्न-फूल्न दिइरहेको छ ।

शिया मुसलमानको अस्तित्वको संघर्ष

शिया समुदायका लागि केही घटनाहरू मात्र खतरा बनेका छैनन्, बरू अहिले यो उनीहरूका लागि एउटा निरन्तर अस्तित्व संकट बनेको छ । मस्जिदहरूमा हुने आत्मघाती बम आक्रमण, पेशागत व्यक्तिलक्षित हत्या र धार्मिक जुलुसमा हुने बारम्बारको आक्रमणले शिया समुदायको जीवनलाई त्रासपूर्ण बनाएको छ ।

पराचिनारजस्ता शिया बाहुल्य क्षेत्रमा उनीहरूको सुरक्षा सुनिश्चित गर्न राज्यले असफलता देखाएको छ । दशकौंसम्म हिंसा र उपेक्षा सहँदै आएको यस क्षेत्र अझै पनि विकास र सामाजिक सेवाको अभावले ग्रस्त छ ।

पाकिस्तानमा अन्य अल्पसंख्यक समुदायको अवस्था

शिया मात्र होइनन्, पाकिस्तानका अन्य अल्पसंख्यक समूहहरू पनि व्यापक हिंसा र भेदभावको शिकार भइरहेका छन् । अहमदी समूह, हिन्दू, ईसाई, बलोच र पश्तून समुदाय पनि राज्य र समाजको विभेदपूर्ण व्यवहारबाट प्रताडित छन् ।

पाकिस्तानमा अहमदीलाई १९७४ मा संविधान संशोधन गरेर गैर-मुसलमान घोषित गरिएको थियो । उनीहरू मुस्लिम भएपनि आफूलाई मुस्लिम भन्न पाउँदैनन् र खुलेर आफ्नो धर्म अभ्यास गर्नसमेत रोक लगाइएको छ । यिनै प्रतिबन्धहरूका कारण अहमदी समुदाय निरन्तर हिंसा र विभेदको सिकार भएको छ ।

पाकिस्तानका हिन्दू र ईसाई अल्पसंख्यकहरूले पनि सामाजिक र कानुनी भेदभाव भोगिरहेका छन् । उनीहरूमाथि जबरजस्ती धर्म परिवर्तन, अपहरण र बालविवाहका घटना नियमितजस्तै भएका छन् । हिन्दू र ईसाई महिला तथा किशोरीहरू असुरक्षित छन् ।

बलोच र पश्तून दुवै समुदायले पनि पाकिस्तानमा पटक-पटक राज्यको सैन्य हस्तक्षेप, आर्थिक शोषण र मानवअधिकार उल्लङ्घन सहनुपरेको छ ।

बलोचले आत्मनिर्णय र स्रोतहरूको न्यायोचित वितरणको माग गर्दा 'विभाजनकारी' को आरोप खेपिरहेका छन् । पश्तून समुदाय आतंकवाद र सैन्य अभियानका नाममा हुने हिंसाका सिकार बनिरहेका छन् ।

राज्यको भूमिका र असफलता

पाकिस्तान सरकारले धार्मिक अल्पसंख्यकहरूको सुरक्षामा गम्भीर चासो देखाएको छैन । अतिवादी संगठनहरू खुलेआम हिंसाको प्रचार गर्दै हिंसाका कृत्यहरूमा संलग्न हुन्छन्, तर कानूनी कारबाही हुन सकेको छैन ।

स्कूलमा पढाइने धार्मिक पाठ्यक्रममा समेत सहिष्णुताको अभाव छ । पाठ्यपुस्तकहरूले धार्मिक असहिष्णुतालाई प्रोत्साहन गर्ने विषयवस्तु समावेश गरेका छन् ।

संकटको समाधान के?

पराचिनारको घटनाले पाकिस्तानलाई आफ्नो कमजोरीलाई पुनः गम्भीर समीक्षा गर्न दबाब दिएको छ । सरकार र अन्तर्राष्ट्रिय समुदायले संयुक्तरूपमा अल्पसंख्यकको सुरक्षाका लागि प्रयास गर्न आवश्यक रहेको सन्देश उक्त घटनाले दिएको छ ।

साम्प्रदायिक हिंसाको चक्र तोड्नका लागि राज्यले कानून र शिक्षा प्रणालीलाई सुधार गर्नुपर्छ । घृणा फैलाउने वक्तव्य र हिंसाका लागि जिम्मेवार व्यक्तिहरूलाई कानूनी कारबाहीमा ल्याउनु अत्यन्त आवश्यक छ ।

ग्लोबल अर्डरका लागि रिसी सुरीले लेखेको लेखको भावानुवाद

salt training

कमेन्ट गर्नुहोस्