२१ जेठ २०८३, बिहीबार

८२५ मिटर खनियो सिद्धबाबा सुरुङमार्ग

मंसिर १७, २०८१
बुटवल
८२५ मिटर खनियो सिद्धबाबा सुरुङमार्ग

​​सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको काम धमाधम भइरहेको छ ।

सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका अनुसार हालसम्म दुवैतर्फबाट गरी ८२४.८१ मिटर लम्बाइ खनिएको छ ।

कुल १ हजार १२६ मिटर लामो सुरुङमा उत्तरतर्फबाट ३६८.०९ र दक्षिणतर्फबाट ४५६.७२ मिटर खनिएको सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् । हालसम्म आयोजनाको कुल भौतिक प्रगति ३३.५९ प्रतिशत र वित्तीय प्रगति ३२.२ प्रतिशत भएको छ ।

सुरुङमार्गमा रहेका तीन वटा बाइपासमध्ये दुई वटा बाइपास ‘ब्रेक थ्रु’ भइसकेका छन् भने अर्को बाइपास पनि अन्तिम चरणमा पुगेको छ ।

१३० मिटर लम्बाइ भएको तेस्रो बाइपास सुरुङ गएको भदौ र १५१ मिटर लम्बाइ रहेको पहिलो बाइपास सुरुङ गएको असोजमा ‘ब्रेक थ्रु’ भएको थियो । यस्तै १६१ मिटर लम्बाइको दोस्रो बाइपास १४८.८ मिटर खनिसकिएको छ ।

मुख्य सुरुङ दोस्रो बाइपाससम्म नपुगेकाले दोस्रो बाइपासको ‘ब्रेक थ्रु’हुन समय लागेको इन्जिनियर ज्ञवालीले बताइन् । अबको केही दिनभित्र दोस्रो बाइपास पनि छेड्नेगरी तीब्र रूपमा काम भइरहेको उनले बताइन् ।

अहिले मुख्य सुरुङमार्गमा लाइनिङ र ढलानको काम पनि भइरहेको उनले बताइन् ।​

बाह्रै महिना पहिरो झरिरहने यो ठाउँलाई सुरक्षित बनाउन ४ माघ २०८० बाट सुरुङ खन्ने काम औपचारिक रुपमा सुरु भएको थियो । आयोजनामा गत जेठ १३ देखि ‘ब्लास्टिङ’ गरी सुरुङ खन्न थालिएको थियो ।

सुरुङ मार्गमा अहिले विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा काम भइरहेको छ । बहुप्रचारित सुरुङमार्गलाई आगामी पुसभित्रै ‘ब्रेक थ्रू’ गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाको दाबी छ। अहिले दैनिक सरदर पाँच मिटर मुख्य सुरुङ खन्ने काम भइरहेको छ ।​​

विस्फोट गर्ने समयमा सीमित अवधिका लागि मात्र सवारी आवागमन बन्द गरेर चिनियाँ र नेपाली गरी १५० जना बढी प्राविधिकहरूले धमाधम काम गरिरहेका छन् । यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी)ले गरिरहेको छ ।

 

null

salt training

कमेन्ट गर्नुहोस्