
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । तर, उनले आफ्नो सरकारलाई अझै पूर्णता दिन सकेका छैनन् ।
गत वैशाख २७ गते उनी तेस्रो पटक मुख्यमन्त्री बनेका थिए । सोही दिन उनले माओवादी र एमालेका एक/एक जनालाई मन्त्री बनाएका थिए । त्यसपछि उनले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका थिए । माओवादी बाहिरिएपछि भदौ २८ गते कांग्रेसका तीन मन्त्री र एक जना राज्यमन्त्री समेटेर मुख्यमन्त्री कार्कीले मन्त्रिमण्डल विस्तार गरे ।
सोमबार एमालेका रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गर्दै उनले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्री भण्डारीले सोमबार साँझै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । यसअघि उक्त मन्त्रालयका मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीको आरोप लागेपछि राजीनामा दिएका थिए ।
भण्डारी एमालेका संसदीय दलका प्रमुख सचेतक पनि हुन् । कानूनी पृष्ठभूमिका अधिकारी मन्त्री रहेको आन्तरिक मामिला मन्त्रालयमा कानूनी पृष्ठभूमि भण्डारी मन्त्री बनेका हुन् । सुनसरी २ (१) बाट प्रदेशसभामा निर्वाचित भएका भण्डारी संविधानसभा सदस्य पनि रहिसकेका छन् ।

कोशी सरकारमा नेपाली कांग्रेसको भागमा रहेको स्वास्थ्य मन्त्रालय भने खाली छ । उक्त मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले हेर्दै आएका छन् । कांग्रेसको आन्तरिक किचलोको कारण सो मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन सकेका छैनन् ।
कांग्रेसले स्वास्थ्य मन्त्रालय डा. शेखर कोइराला समूहका लागि छुट्टाएको छ । तर, कोइराला समूहले २ मन्त्रालय दिनुपर्ने माग गर्दै मन्त्रीको नाम नदिएकाले सरकारले पूर्णता पाउन नसकेको हो ।
यता मुख्यमन्त्री कार्की भने मन्त्रिपरिषद् पूर्णता नपाउँदा पनि कुनै समस्या नरहेको बताउँछन् । उनले चाँडै स्वास्थ्य मन्त्री नियुक्त गर्ने समेत बताए ।