
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ । निर्वाचन आयोगले सोमबार मध्यराति निर्वाचनको सबै मत परिणाम घोषणा गरेको हो ।
आइतबार ४१ पदका लागि उपनिर्वाचन भएको थियो भने त्यसअघि नै ३ पदमा उम्मेदवारहरू सर्वसम्मत भएका थिए । जसमा दुई जना जिल्ला समन्वय समितिका प्रमुख रहेका छन् भने एक जना वडाध्यक्ष रहेका छन् । यससँगै उपनिर्वाचन प्रक्रियाबाट ४४ वटै रिक्त पदको टुंगो लागेको हो ।
आयोगका अनुसार नेपाली कांग्रेसले एक नगरपालिकाको मेयर र १६ वडामा जित हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले एक गाउँपालिकाको अध्यक्ष, दुई गाउँपालिकाको उपाध्यक्ष एक नगरपालिकाको उपमेयर र ७ वटा वडा (सर्वसम्मतसहित) मा जित हात पारेको छ ।
यस्तै नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र ५ वटा वडामा विजय हासिल गरेको आयोगले जनाएको छ ।
यस्तै जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले एक स्थानमा विजयी हासिल गरेका छन् ।
००००
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच मंगलबार द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै शिष्टाचार भेटवार्ता गर्ने छन् ।
००००
नेकपा एमालेले कोशी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा विदुर लिङ्थेपलाई नियुक्त गरेको छ ।
एमालेका संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लिङ्थेपलाई सोमबार प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
००००
सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रहेको रविले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगातार ३ दिन बयान दिएका हुन् ।
सोमबार साँझ उनको बयान सकिएको छ । काठमाडौंमा बयान सकिएसँगै उनलाई अब चितवन समेत लगेर बयान लिइने बताइएको छ । चितवनको सहकारी ठगीमा समेत उनको संलग्नता रहेको आरोप छ । यसअघि उनको रुपन्देहीमा पनि बयान भएको थियो ।
००००
प्रधानसेनापति अशोक राज सिग्देलले विगत द्वन्द्व तथा कर्तव्यपालनको क्रममा वीरगति प्राप्त गरेका सकलदर्जाका एकल महिलाहरूसँग भेटघाट गरेका छन्।
प्रधान सेनापतिले द्वन्द्वकाल र कर्तव्यपालनका क्रममा वीरगति प्राप्त सकलदर्जाको योगदानको स्मरण गर्दै, एकल महिलाहरूले शोकलाई शक्तिमा बदल्दै समाजमा आफैं र आफ्ना सन्तानलाई स्थापित गराएकोमा प्रशंसा व्यक्त गरे ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओम प्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेलाई सफाइ दिने विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिक मताधिकारको अभ्यासमा मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको बताएको छ ।
आइतबार भएको उपनिर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकेको रास्वपाले लोकतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा रहेको उल्लेख गर्दै मतदातामा वितृष्णा र निराशा देखिएको बताएको हो ।
००००
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)बाट लगानीका लागि अनुकूल वातावरण देखिएको बताएका छन् ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले प्रमुख दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम भएसँगै आर्थिक विकासमा सरकारको ध्यान केन्द्रित भएको बताएका हुन् ।
००००
वाइडबडी जहाज खरिदसम्बन्धी भ्रष्टाचार मुद्दाका प्रतिवादी दीपक शर्मा घुस प्रकरणमा अमेरिकामा दोषी पाइएका छन् ।
नेपाल वायु सेवा निगमलाई दुईवटा वाइडबडी जहाज बिक्री गर्दा २५ लाख अमेरिकी डलर घुस खाएको आरोपमा अमेरिकी अदालतले शर्मालाई दोषी ठहर गरेको हो ।
शर्मा नेपाली मूलका बेलायती नागरिक हुन् । अमेरिकी कानून ुफरेन करप्सन प्राक्टिस एक्टुविपरीत घुस लिएको उनले अदालतसमक्ष स्वीकारेका छन् ।
००००
ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी घुस रकमसहित पक्राउ परेका छन् ।
सवारी साधनलाई आवत(जावत गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
००००
साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार बढेको छ । लगातार २ दिनको गिरावटपछि नेप्से परिसूचक १९.९७ अंकले बढेको हो ।
००००
२०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनर्निर्माण गरेर सञ्चालनमा ल्याइएको धरहराबाट एक सातामा १४ लाख ७० हजार राजस्व संकलन भएको छ ।
यही मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म करिब लाख राजस्व संकलन भएको हो ।