०६ साउन २०८३, बुधबार
एनपीएल क्रिकेट

सुदूरको सानदार जीत, लगातार दोस्रोपटक हार्‍यो विराटनगर

मंसिर १८, २०८१
काठमाडौं
सुदूरको सानदार जीत, लगातार दोस्रोपटक हार्‍यो विराटनगर

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले सानदार जित हात पारेको छ । मंगलबार मध्याह्न त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले विराटनगर रोयल्सलाई ९० रनले पराजित गरेको हो ।

सुदूरपश्चिमको यो पहिलो जीत हो भने विराटनगर लगातार दोस्रोपटक पराजित भएको हो । आफ्नो पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । 

सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनाउन सक्यो । 

विराटनगरका लागि बसिर अहमतले सर्वाधिक २४ रन बनाए । त्यसैगरी राजेश पुलामी १५ र अनिल पुलामीले १० रनाउनुबाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

सुदूरपश्चिमका लागि ​स्कट कुग्गेलैन र अविनाश बोहराले तीन/तीन विकेट लिए । त्यसैगरी ब्राण्डन मुल्लेन, सैफ जैब र इशान पाण्डेले समान एक/एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित १८३ रनको विशाल स्कोर तयार गरेको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८२ रन बनाएको थियो । प्रतियोगिताको एकै इनिङ्समा हालसम्म बनेको यो नै सबैभन्दा धेरै रन हो । यसअघि तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुरले दुई विकेट गुमाउँदै १४२ रन बनाएको थियो । 

इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीबिच छैटौँ विकेटको लागि ४९ रनको बलियो साझेदारी भएपछि सुदूरपश्चिम प्रतियोगिताकै सबैभन्दा धेरै रन बनाउन सफल भएको हो । दीपेन्द्रले २४ बलमा तीन चौका र पाँच छक्कासहित अविजित ५७ रन बनाए । उनी अनिलकुमार शाहपछि अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी हुन् । 

छैटौँ नम्बरमा आएर १६ बलमा दुई चौका र एक छक्कासहित २१ रन बनाएका इशान पाण्डेलाई अनिल खरेल र विकेटकिपर लोकेश बमले रनआउट गराए । 

सुदूरपश्चिमका लागि स्कटल्यान्डका खेलाडी ब्रान्डन म्याकमुलेनले २६ बलमा समान दुई चौका र छक्कासहित ३६ रन बनाए । अनुभवी ओपनिङ ब्याटर विनोद भण्डारीले २० बलमा चार चौकासहित २३ रन जोडे ।

इंग्ल्यान्डका सेफ जैब १५ बलमा एक छक्कासहित १४ रन बनाए । तीनै खेलाडीलाई अनिल खरेलले आउट गरेका थिए । न्युजिल्यान्डका ३२ वर्षीय स्कट कुगेलेइनले १० रन जोडे । यसअघि ओपनर अमित श्रेष्ठ एक रनमै आउट भएका थिए । आरिफ शेख पनि नौ रनमै आउट भएका थिए ।

आज नै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्