
चितवन, २६ कात्तिक वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले नेकपा माओवादी केन्द्रले पार्टी सिद्धान्त भुलेको आरोप लगाएका छन् । 
लोकतान्त्रिक गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाण्डेले सिद्धान्त भुलेर माओवादी केन्द्रले कहिले काँग्रेसको बुई चढ्ने त कहिले एमालेलाई अंकमाल गर्ने गरेको बताए ।
आज चितवनको भरतपुर वडा नं ६ स्थित गीतानगरमा लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी प्रसारप्रसार समितिको कार्यालय उद्घाटन गर्दै उनले नक्कली वामपन्थीको पर्दाफास भएको समेत जिकिर गरे ।
आफ्ना प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै पाण्डेले भने, “अब चुनाव जित्छु भनेर नसोचे पनि हुन्छ ।” उनले दाहाललाई टुरिस्टको संज्ञा दिँदै आफूले निर्वाचन जिते पनि हारे पनि चितवन नछाड्ने दाबीसमेत गरे । आजै प्रचण्डले पाण्डेलाई ठेकेदार भन्दै कटाक्ष गरेका थिए ।
यसअघि चितवन क्षेत्र नं ५ बाट निर्वाचित सांसद तथा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्षसमेत रहेका पाण्डेले यसपालि काँग्रेसले पनि समर्थन दिएर पठाएकाले चुनाव जित्ने हिम्मत बढेको विश्वास व्यक्त गरे ।