
कपिलवस्तु २६ कात्तिक-कपिलवस्तु क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका दीपकुमार उपाध्यायले आफ्नो चुनावी अभियानलाई जारी राखेका छन् ।
२०७० सालको निर्वाचनमा पराजित उपाध्याय अहिले फेरि माहोल आफ्नो पक्षमा रहेको दाबीका साथ चुनावी अभियानमा होमिएका हुन् ।
दोस्रो संविधान सभाको निर्वाचन पछि गठन भएको सुशील कोइराला नेतृत्वको सरकारले उपाध्यायलाई मन्त्रिस्तरिय कुटनीतिक मर्यादामा राख्दै भारतकालागि नेपाली राजदूत बनाएर पठाएको थियो ।
राजदूत पदमा रहँदा राम्रो काम गरेका उनलाई नेपालमा सरकार परिवर्तनसँगै केपी ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो । सहजै फिर्ता भएर कांग्रेसकै राजनीतिमा सक्रिय भएकाबेला फेरि प्रचण्ड नेतृत्वको सरकाले सरकारको विशेष जिम्मेवारी बहन गरिदिन आग्रह गर्दै उनलाई नयाँ दिल्ली पठाएको थियो । 
तर, उपाध्याय राजदूत पद छाडेर कपिलवस्तु क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका हुन् । चुनाव प्रचारकै क्रममा भेटिएका उनले आफ्नो उम्मेदवारीले जनतामा उत्साह उत्पन्न भएको भन्दै चुनाव जित्नेमा ढुक्क रहेको दाबी गरे ।
यसैबीच आइतबार कपिलवस्तु नगरपालिकाको विभिन्न ठाउँमा मतमाग्न पुगेका उपाध्यायलाई मतदाताले भव्य स्वागत गरेका थिए ।
उनीहरुले उपाध्यायलाई दीपकबाबु भनेर संवोधन गर्दै आगामी दिनमा आरुहरुको लागि उनैले काम गर्ने आशा पनि व्यक्त गरेका थिए ।
कपिलबस्तु एक नम्बर क्षेत्रमा उपाध्याय हुँदा २ नम्बरमा सुरेन्द्र आचार्य र ३ नम्बर क्षेत्रमा अभिषेक प्रताप साह कांग्रेसबाट उम्मेदवार रहेका छन् ।