२७ असार २०८३, शनिबार
नगदरहित कारोबार वृद्धि

डिजिटल भुक्तानीमा फड्को : नोटको सट्टा स्मार्टफोनबाट कारोबार

मंसिर २१, २०८१
काठमाडौं
डिजिटल भुक्तानीमा फड्को : नोटको सट्टा स्मार्टफोनबाट कारोबार

केही वर्ष अघिसम्म बैंक तथा वित्तीय संस्थामा भौतिकरूपमा उपस्थित भएर कारोबार हुने गर्दथ्यो । तर, पछिल्लो पाँच/सात वर्षमा नेपालमा डिजिटल प्रणालीहरूमार्फत् हुने कारोबार बढ्दै गएको छ ।

पछिल्लो समय नगदरहित कारोबारको सीमा र दायरा फराकिलो बन्दै गएको हो । दैनिक उपभोग्य वस्तु खरिद–बिक्रीदेखि लाखौँको आर्थिक कारोबार डिजिटल रूपमै हुन थालेको छ । खल्तीमा नोटको सट्टा स्मार्टफोन बोकेर डिजिटल भुक्तानी गर्ने नेपालीहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । नगद कारोबारभन्दा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस जस्ता माध्यमको प्रयोग गर्नेहरू उल्लेख्य बढेका छन् ।

११ वर्षअघि(२०७० सालसम्म) नेपालमा कुल एक करोड १४ लाख बैंक खाता खोलिएका थिए । जुन अहिले (२०८१ सम्म)साढे ५ करोड बढी पुगेका छन् । ११ वर्षअघि देशभर १ हजार ४९९ वटा एटीएम मशिन  थिए । अहिले ५ हजार २ सय बढी एटीएम छन् । तिनको प्रयोग पनि विस्तारै कम हुँदै गएको छ । अहिले अधिकांशले मोबाइलबाटै अधिकांश बैंकिङ कारोबार गर्न थालेका छन् । शहरी र इन्टरनेटको राम्रो पहुँच भएको अधिकांश विद्युतीय कारोबार नै बढी हुने गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को अन्तिम महिना असारमा मात्रै इतिहासकै सर्वाधिक विद्युतीय प्रणालीमार्फत् कारोबार भएको थियो । गत असारमा मात्रै विद्युतीय प्रणालीमार्फत् ८८ खर्ब ३३ अर्ब ९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।

पछिल्ला केही वर्षमा भौतिक रूपमा उपस्थित भएर बैंकिङ कारोबार गर्नेको संख्या घट्दै गइरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए । बैंक तथा वित्तीय संस्था, सरकार र सर्वसाधारणले डिजिटल कारोबारलाई बढाउँदै लगेको उनले बताए । ‘अहिले भौतिक रूपमा उपस्थित भएर कारोबार गर्ने क्रम घट्दै गएको छ । बैंक तथा वित्तीय संस्था, सरकार, सर्वसाधारण तथा अन्य पक्षहरूले डिजिटल कारोबारलाई बढाउँदै लगिरहेका छन्, उनले भने, ‘डिजिटल प्रणालीले जति सहजता ल्याएको छ, त्यति नै चुनौती पनि थपेको छ । डिजिटल प्रणालीको दुरुपयोग हुने सम्भावना पनि त्यत्तिकै रहन्छ ।’

डिजिटल प्रणालीको विकास
२०७० असार मसान्तसम्म नेपालमा २०७ वटा बैंक तथा वित्तीय संस्थाहरू थिए । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार त्यतिबेला १ करोड १४ लाख ३ हजार ८५ नेपालीको बैंकमा खाता थियो । देशभर १ हजार ४९९ वटा पैसा निकाल्ने मशिन अर्थात् एटीएम थिए ।

एक वर्षपछि अर्थात् २०७१ असार मसान्तसम्म आइपुग्दा नेपालमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटेर २०४ पुगेको थियो । यति बेलासम्म बैंकमा १ करोड ३१ लाख २९ हजार ५७४ खाताहरू खुलेको देखिन्छ । एटीएम १ हजार ६५२ वटा सञ्चालनमा आइसकेका थिए ।

२०७२ असार महिनासम्म आइपुग्दा नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या १९२ मा झरिसकेको थियो । बैंकहरूमा १ करोड ४९ लाख ३४ हजार ६१८ निक्षेप खाता खुलिसकेका थिए । देशभर १ हजार ७२१ वटा एटीएम पनि सञ्चालनमा आइसकेका थिए । देशका कुना कुनामा बैंक तथा वित्तीय संस्थाको पहुँच पनि बढिरहेको थियो ।

मोबाइल बैंकिङ प्रयोगकर्ताहरू बढ्दै
२०७३ सालमा केही वित्तीय संस्थाहरू बन्द तथा केही मर्ज भएर देशमा १७९ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा थिए । बैंकहरूमा १ करोड ६८ लाख ३६ हजार १७ खाता खुलिसकेका थिए । यसै वर्षदेखि नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ता र इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूको तथ्याङ्क राख्न शुरू गरेको देखिन्छ ।

पहिलो वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरू १७ लाख ५४ हजार ५६६ रहेको देखिन्छ । त्यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरू ५ लाख १५ हजार ४६५ रहेका थिए ।

२०७४ सालसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरू घटेर १४९ वटामा सीमित भए । त्यतिबेला मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २६ लाख ६९ हजार ७३२ पुगिसकेको थियो । इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरू बढेर ७ लाख ८३ हजार ८५१ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने संख्या पनि १ करोड ९७ लाख ५४ हजार ३६ वटा पुगिसकेका थिए । देशभर २ हजार ८१ वटा एटीएम मशिन पनि विस्तार भैसकेका थिए ।

त्यस्तै, २०७५ असार महिनासम्म आइपुग्दा देशमा बैंक तथा वित्तीय संस्थाको संख्या १५१ वटा, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ५० लाख ८६ हजार र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या ८ लाख ३४ हजार ३०२ पुगिसकेको थियो । यति बेलासम्म देशभर २ हजार ७९१ एटीएम मशिन विस्तार भैसकेका थिए । बैंकमा खाता खोल्नेको संख्या पनि २ करोड ३५ लाख ४४ हजार ९५९ पुगिसकेको थियो ।

आर्थिक वर्ष २०७५/७६ को असार महिनासम्म आइपुग्दा नेपालमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढेर १७० पुगेको थियो । यस वर्ष मोबाइल बैंकिङ प्रयोगकर्ताहरू करिब ३३ लाखले बढेर ८३ लाख ४७ हजार १८७ पुगेका थिए । इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या ९ लाख १७ हजार ३४४ पुगेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ असार मसान्तसम्म बैंकमा कुल ३ करोड २४ लाख ५४ हजार २०४ वटा निक्षेप खाताहरू खुलिसकेका थिए । मोबाइल बैंकिङ प्रयोगकर्ताहरू पनि बढेर १ करोड १३ लाख ६ हजार ७९७ पुगिसकेका थिए । इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरू पनि १० लाख ३१ हजार २२७ पुगेका थिए । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल मोबाइल बैंकिङका प्रयोगकर्ताको संख्या साढे दुई करोड बढी छ ।

salt training

कमेन्ट गर्नुहोस्