
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परे ।
एक स्थानीय युवतीको बलात्कारपछि हत्या र अर्का एक व्यक्तिको अपहरणपछि हत्या गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीवार वडाध्यक्षको शपथ लिइरहेका बेला साहलाई नियन्त्रणमा लिइएको हो ।
गत मंसिर १६ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार साह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए ।
अचम्मको कुरा त, साहविरुद्ध गत साउन १५ गते जिल्ला अदालत सप्तरीले पक्राउ अनुमति दिएको थियो ।
पक्राउ अनुमति लिइएका र तीनवटा गम्भीर प्रकृतिका घटनामा संलग्न साहले उपचुनावमा भाग लिएर चुनावमा जीत हासिल गरे ।
सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार साह जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका प्रतिवादी हुन् ।
२०७८ चैत २२ गते बिहान साढे १० बजे सप्तरीस्थित डाक्नेश्वरी नगरपालिका– १ माधोपुरमा साहलगायतको समूहले एक महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको उजुरी परेको थियो ।
हुलाकमार्फत २०७१ साउन १७ मा साहलगायत विरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा परेको थियो ।
त्यस्तै, अर्को उजुरी २०८० जेठ १० सरकारी वकिल कार्यालयमार्फत कल्याणपुर इप्रकालाई अर्को घटनाको अनुसन्धान गर्न पत्र गएको थियो । त्यो घटना व्यक्ति बेपत्ता र कर्तव्य ज्यान मुद्दाको थियो ।
साहले उच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट हाले । उच्च अदालत जनकपुरले २०८० चैत ४ गते परमादेश जारी गर्दै ईप्रका कल्याणपुरलाई अनुसन्धान गर्न भन्यो ।
ईप्रकामा परमादेशको पत्र गत साउन ६ गते मात्रै पुग्यो । साउन १४ गते साहलगायतविरुद्ध मुद्दा नै दर्ता भयो ।
एसपी खतिवडाका अनुसार साह आफ्ना कर्तुतका बारेमा जान्दाजान्दै चुनावमा उठेको बताए ।
‘म पनि एक महिनाअघि मात्रै सप्तरी हाजिर भएको हुँ । साहविरुद्ध पक्राउ पुर्जी जारी भएको मलाई रिपोर्टिङ थियो । थाहा पाएपछि तुरुन्तै पक्राउ गर्न लगाएँ,’ खतिवडाले लोकान्तरसँग भने, ‘साहलाई जिल्लामै ल्याएर अनुसन्धान गर्ने तयारीमा छौं ।’