
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली कला, संस्कृति र सीपलाई नवपुस्तामा हस्तान्तरण गर्न जरुरी रहेको बताएका छन् ।
आज आयोजित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १७औँ प्राज्ञसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाली कलालाई विश्वमा पुर्याउन सके महत्व अझै बढ्ने धारण राखे। सोही अवसरमा उनले सिर्जनशील हुँदै उपलब्धीमूलक काम गर्न प्रतिष्ठानका अधिकारीहरुलाई आग्रह पनि गरे ।
उनले भने, “वर्तमान अवस्थामा न्यूनतम स्रोत र साधनबीच पनि कसरी सिर्जनशील र धेरै परिणाम निकाल्ने काम गर्नुपर्छ भन्नेमा हामीले सोच्नुपर्छ, यसतर्फ ध्यान जाओस् ।” प्रतिष्ठानको सक्रियता प्रशंसनीय भएको र थप सक्रियताका लागि शुभकामना दिँदै उनले थपे, “नेपाली कला, सीपलाई नवपुस्तामा हस्तान्तरण गर्दै समयानुरूप विश्वमञ्चमा अघि बढाउनुपर्छ । मन्त्रालयका तर्फबाट ललितकलाको विकासका लागि सक्दो सहयोग हुनेछ । यस सभाले प्रतिष्ठानको आगामी दिशाबोध राम्ररी गरोस् ।”
समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्राज्ञसभामार्फत विस्तृत रूपमा आन्तरिक तथा आगामी रणनीतिक विषयमा छलफल हुने बताए ।