
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते बस्ने भएको छ ।
पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले मङ्सिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाकिएको जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । बैंठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।
००००
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा सोमबार बस्नेगरी बैठक आह्वान गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बीआरआई सम्झौतापछि दुई दलले छुट्टाछुट्टै बैठक बोलाएको हो ।
००००
मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचनका लागि अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार शुक्रबार कमल गिरी, देवी प्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लाल सिंह लामाको उम्मेदवारी परेको हो ।
यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा ४ जना, महिला उपाध्यक्षमा २ जना, उपाध्यक्ष समावेशीमा ३ जना, महासचिवमा ४ जना, सचिव खुलामा ७ जना,
सचिव महिलामा ३ जना, सचिव आदिवासी जनजातिमा ३ जनाको उम्मेदवारी पर्दा कोषाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको समितिले जनाएको छ ।
पत्रकारको चुनाव भएपछि दल निकटका पत्रकारहरुबीच गठबन्धन बनाएर चुनाव हुन लागेको हो। चुनावमा कांग्रेस र एमाले निकट पत्रकार एकातिर छन् भने माओवादीसहितका केही दल निकट पत्रकार अर्कातिर छन् ।
००००
सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पदाधिकारी सिफारिस समितिले ४० जनाको नाम छनोट गरेको छ ।
समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीका लागि अध्यक्षमा आठ र सदस्यमा ३२ जनाको नाम छनोट गरेको समितिका सदस्य प्रवक्ता खम्बबहादुर खातीले जानकारी दिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगेको घटनाप्रति आपत्ति जनाएको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले लामिछानेलाई दिनभर चितवनमा बयान गराएपछि राति ३ बजे सडकमार्ग हुँदै पोखरा र्पुयाइएको भन्दै आपत्ति जनाएको हो ।
००००
शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ ।
नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) रु चार सय ७० र मझौलाको रु चार सय ५५ कायम गरिएको बताए।
००००
नेपाल प्रिमियर लीग एनपीएलमा पोखरा एभेन्जर्सले १० विकेटको शानदार जीत दर्ता गरेको छ ।
कीर्तिपुरमा लुम्बिनी लायन्सले दिएको १७१ रनको लक्ष्य पोखराले विना विकेटको क्षतिमा पूरा र्गयो ।
००००
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले पहिलो जीत हात पारेको छ । शुक्रबार मध्याह्न चितवन राइनोजलाई सात विकेटले हराउँदै पहिलो जीत दर्ता गरेको हो ।
चितवनले दिएको १३० रनको लक्ष्य कर्णालीले अन्तिम ओभरमा चार विकेट गुमाएर पूरा र्गयो । पहिलो जितसँगै कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ । यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो ।
००००
कास्कीको पोखरामा सञ्चालित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको साधारण सदस्य कृष्ण गुरुङ कतार उड्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनी उक्त सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप प्रहरीको छ ।
००००
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेशी व्यवस्थापन गरिएको बताएका छन् ।
सर्वोच्च अदालतमा गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रिया अवलोकन गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन पेशी व्यवस्थापनमा गोला प्रणाली अवलम्बन गरिएको बताए ।
००००
भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् ।
यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी उनलाई स्वागत गरेका थिए । उनी शुक्रबार नेपाल आएर सोही दिन स्वदेश फर्किएका छन् ।
००००
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन् ।
सहकारी ठगी प्रकरणका लागि छानबिनमा रहेका लामिछानेलाई कास्कीस्थित प्रहरी हिरासतमा भेटेपछि भट्टराईले यस्तो बताएका हुन् ।