
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले रौतहट चन्द्रपुर नगरपालिका जुडीवेला घर भएका ३९ वर्षीय कृष्ण प्रसाद अधिकारी भन्ने बिहानी बहादुर अधिकारी, चितवन भरतपुर महानगरपालिका-१२ घर भएका ३७ वर्षीय रूपक शर्मा पौडेल र सप्तरी बोदेबरसाइन नगरपालिका-६ फुल्काई घर भएका २४ वर्षीय लक्ष्मण यादव भन्ने जगदिश प्रसाद यादवलाई पक्राउ गरेको हो ।
पक्राउमध्ये कृष्ण प्रसाद भन्ने बिहानी बहादुरले फेसबुकमा साथी बनी कुराकानीको क्रममा आदान प्रदान गरिएका गोप्य तस्वीर रेकर्ड गरी राखेर पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको र रूपक शर्माले सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदान प्रदान गरिएका गोप्य तस्वीर पीडकले अश्लिल शब्दहरू लेखी पीडितको सम्पर्क नम्बरसहित ह्वाट्स एप ग्रुपमा सेयर गरी दुःख हैरानी दिएको खुल्न आएको छ ।
यसैगरी, लक्ष्मण यादव भन्ने जगदिश प्रसादले फेसबुकमार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्वीर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीहरूका म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दु:ख हैरानी दिएको घटनामा साइबर ब्यूरोमा मुद्दा दर्ता भई फरार रहेका उनलाई वैदेशिक रोजगारीको क्रममा कतारमा रही नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कृष्ण प्रसाद भन्ने बिहानी बहादुर र रूपक शर्मा उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको र लक्ष्मण यादव भन्ने जगदिश प्रसादलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेस गरिने साइबर ब्यूरोले जनाएको छ ।