
रूपन्देहीको तिलोत्तमामा रहेको स्केट पार्क तथा सामुदायिक केन्द्रमा पुस्ताकालय स्थापना गरिने भएको छ । स्केट एड नेपालले तिलोत्तमा नगरपालिका-४ डिङगरनगरमामा दोस्रो चरणको परियोजना अन्तर्गत सामुदायिक पुस्ताकालय भवन निर्माण गर्ने भएको हो ।
शनिबार पत्रकार सम्मेलन गरी जापानीज स्केटर तथा युटुबर सिमन ईवाजावाको सहयोग र चन्दा संकलनबाट खेलाडीहरूलाई लक्षित गरी पुस्ताकालय भवन निर्माण गर्न लागिएको जनाएको छ । अनुमानित ३५ लाख लागतमा निर्माण गरिने पुस्तकालयले बालबालिकाहरुलाई खेलसँगै अतिरिक्त ज्ञानवृद्धिमा सहयोग गर्ने विश्वास लिइएको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए ।
उनले पुस्ताकालयमा विश्वभरका खेल र अन्य ज्ञानसँग सम्बन्धित पु्स्तक राखिने र पार्कमा स्केटका लागि आएका बालबालिकालाई बसेर होमवर्क गर्न मिल्ने गरी संरचना बनाइने बताए । पहिलो चरणमा स्केट पार्क (खेल मैदान) बनाइएको र अब दोस्रो चरणमा पुस्ताकालय भवन निर्माणको योजना शुरू गरिएको अध्यक्ष पहाडीले बताए ।
स्केट पार्क बनेसँगै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने स्केटर जन्माउन सफल भएको समेत उनले बताए ।
पुस्ताकालय निर्माणका लागि सहयोगको घोषणा गरेका जापनिज स्केटर तथा युटुबर सिमनले आफूले नेपालका बालबालिकालाई स्केटमा आकर्षित गर्न र अध्ययनमा सहयोग गर्नेगरी पुस्तकालय भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
सिमनले जापनामा पुस्तकालय भवन निर्माणका लागि अभियान चलाएर सहयोग गर्ने भएका हुन्। निर्माण हुने पुस्तकालयको नि:शुल्क सेवा लिन पाइने स्केट एड नेपालका सचिव विजय तामाङले बताए । उनका अनुसार हाल स्केट पार्कमा ४० जना बालबालिकाले नि:शुल्क स्केटको सेवा लिइरहेका छन् ।
स्केट खेलसँगै बालबालिकालाई कोर्षका किताब, कापी र खेलकुदका सामाग्री समेत दिने गरिएको आयोजकले बताए । तिलोत्तमा रहेको स्केट पार्कमा दक्षिण एसियाली स्तरीय प्रतियोगिता पनि हुँदै आएको छ ।
तिलोत्तमाबाट शुरू भएको स्केट पार्क (खेल मैदान) अभियान काठमाडौं, चितवन हुँदै अहिले देशव्यापी बनेको अध्यक्ष पहाडीले बताए । स्केट एड नेपालको तिलोत्तमा स्थित स्केट पार्कमै सिकेर केही दिनअघि कोरियाको जिन्जुमा भएको एसियाली स्केटबोर्ड प्रतियोगितामा बुटवलका यमबहादुर कामु र अभिषेक परियार उत्कृष्ट १६ मा परेका छन् ।
२०१९ देखि तिलोत्तमास्थित स्केट पार्कमा स्केटबोर्डका नि:शुल्क प्रशिक्षण तथा विभिन्न प्रतियोगिता हुँदै आएको छ । यसका साथै यहाँ विभिन्न देशका स्केटरहरू आएर स्वयम्सेवी रूपमा सेवा दिने गर्छन् । अहिले पनि अमेरिकाका जोनाथन र डेनमार्ककका मेटिश जोथन स्वयम् सेवाका लागि आएका छन् ।