
सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको २९ नम्बर गण हेक्वा ज्वालामाई दाङका तत्कालीन सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले २९ नम्बर गण दाङबाट केही समय अगाडि राजीनामा दिएका थिए ।
अनुसन्धानका क्रममा उनले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एन्ड इन्टरमिडियट एजुकेसन, यूपी) अन्तर्गत हाइस्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेका थिए ।
साथै उनले राष्ट्रसेवक पदमा प्रवेश गरी बढुवा भएको पाइएको आयोगको दाबी छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गरेको छ ।