
नेकपा एकता अभियानका संयोजक एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मोबाइलमा फोन गरेर राजीनामा माग गरेका छन् ।
शुक्रबार एक कार्यक्रममा जाँदै गर्दा गौतमले ओलीको मोबाइलमा फोन गरेर राजीनामा माग गरेका हुन् ।
ओलीको मोबाइल उनका स्वकीय सचिव राजेश बज्राचार्यले उठाउने गरेको ठानेर गौतमले उनीमार्फत ओलीको राजीनामा माग गरेका हुन् । तर, गौतमको नम्बरबाट फोन आएको देखेपछि आफैंले उठाएको ओलीले बताए ।
पार्टी निकट जनजाति संगठनले आयोजना गरेको कार्यक्रममा पुगेर ओलीले आफूलाई वामदेवको फोन आएको र राजीनामा माग गरिएको प्रसंग सुनाएका हुन् ।
वामदेव गौतमसँगको फोन संवादबारे ओलीले भने–
'अहिले भर्खर म गाडीमा आउँदै थिएँ, वामदेव गौतमजीले फोन गर्नुभयो । अनि के भन्नुभयो भने, मदन भण्डारी कांग्रेसले मारेको हो । मलाई पहिले नै थाहा थियो, म चुप लागें । कांग्रेसले मार्छ भन्ने पनि पहिले नै थाहा थियो । पहिले म चुप लागें, अहिले बुढो पनि भइसकेँ, अब जे सुकै भए पनि मलाई केही छैन । म कुरा भन्दैछु भनेर मेरै (मेरै स्वरमा छ), अब केपी ओलीले प्रधानमन्त्रीबाट पनि पार्टी अध्यक्षबाट पनि राजीनामा गर्नुपर्छ, यस्तो भनेर पाइन्छ । भन्देऊ तिम्रो ठूलो बालाई भनेर, कुरा मसँग गर्नुभयो ।'
वामदेवबाट फोन आएको नम्बर देखेपछि मैले उठाएँ, 'कामरेड के छ हालखबर सोधें- सबै ठीक छ भन्नुभयो । कुराको अन्तिममा तिम्रो ठूलो बालाई भन्देऊ, प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देऊ, पार्टी अध्यक्षबाट पनि राजीनामा गर्न भन्देऊ । यस्तो अपराध गरेर पनि बस्न पाइन्छ ? भनेर एकछिन वामदेव पड्किनु भयो, हस् हजुर भनें मैले, के पड्कने ?'
वामदेव गौतम भ्रममा परेको भन्दै ओलीले थपे- 'वामदेव र म नङ र मासु जसरी एउटै विचारमा लामो समय अगाडि बढेका हौं । अचम्म के लाग्यो भने, केपी ओलीकै आवाजमा छ, के हो यो ? छाड्नुपर्यो सबै भनेर उहाँले भन्नुभयो । मेरो आवाज चिन्नुभयो युट्युबमा बोलेको, तर म उहाँसँग कुरा गरिराखेको छु, त्यो चिन्नु भएन । एआईको जमाना छ, केही बनाएको होला कांग्रेस र हाम्रो बीचमा लडाइ लगाउने, मलाई डिफेम गर्ने हिसाबले ।'