२३ जेठ २०८३, शनिबार

संविधान संशोधन सबै दलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक

मंसिर ३०, २०८१
चितवन
संविधान संशोधन सबै दलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताएका छन् । 

नेपाल प्रेस युनियन चितवनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधन संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताएका हुन् ।

‘संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको छ । संशोधन दुईवटा दलले मात्रै गर्ने होइन’, मन्त्री लेखकले भने । 

संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने उनले बताए ।

‘संविधान संशोधनका लागि कसै न कसैले त पहल गर्नु पर्‍यो । प्रारम्भिक छलफल भएको छ । सबै दललाई समेटेर संविधान संशोधन गर्छौं’, गृहमन्त्री लेखकले भने ।

सरकारको स्थायित्व नै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको मन्त्री लेखकले बताए । 

यो सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै उनले भने, ‘कांग्रेस र एमालेबीचमा सहमति भएको छ, २०८४ सालसम्म त्यही सहमतिअनुसार हामी अघि बढ्छौं  ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति सरकारको कुनै प्रतिशोध नरहेको बताउँदै उनले संसदीय छानबिन समितिले गरेको निर्णय कार्यान्वयन मात्र गरिएको बताए । कानूनी रूपमा अनुसन्धान सुरू गरिएको बताउँदै उनले कानून अनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाउनु अनुसन्धानलाई प्रभावित गर्न खोज्नु रहेको बताए ।     

सहकारीको रकम अपचलन गर्ने सबैमाथि अनुसन्धान हुने बताउँदै उनले व्यक्ति विशेषलाई अनुसन्धान गर्ने र कसैलाई छुट दिने कुरा नहुने बताए । अपराध गर्ने मानिस सबैमाथि अनुसन्धान हुने उनको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्