
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८ स्थित बागमतीको तीरमा आत्मदाह गरेकी कमला आचार्यको सुसाइड नोट भेटिएको छ ।
शनिबार भएको घटनाको घटनास्थलबाट प्रहरीले बरामद गरेको सुसाइड नोटमा आचार्यले आफ्ना श्रीमानसँग क्षमा मागेकी छन् ।
उनले लेखेकी छिन्, ‘सरी बुढा ।’
नोटमा श्रीमान्को नम्बर उल्लेख गरेर यस घटनाबारे उनलाई जानकारी दिन भनेकी छिन् । ‘मैले श्रीमान्लाई सहयोग गर्न सकिँन, म बाँच्नुको कुनै अर्थ छैन,’ उनको नोटमा लेखिएको छ, ‘म मरेको खबर श्रीमान्लाई गरिदिनुहोला नम्बर यो हो ।’
कागेश्वरी मनोहरा नगरपालिका–७ मा आचार्य दम्पतीले स्टेशनरी सञ्चालन गरी बस्दै आएका थिए । आफैंले सञ्चालन गरेको स्टेशनरीबाट केही पर गएर आचार्यले आफ्नै शरीरमा आगो लगाएकी हुन् ।
आचार्यको उपचारको क्रममा मृत्यु भएको काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।
आचार्यले आफू सवार बा ३५ प ५८१८ नम्बरको स्कुटरमा मिनरल वाटरको बोतलमा पेट्रोल लगेर छर्केको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
सुसाइट नोटमा उनले घटना आफ्नै कारणले भएको उल्लेख गरेकी छिन् ।
नोटमा लेखिएको छ, ‘यो सबै मेरै कारण भएको हो ।’ आचार्य दम्पतीका १३ र ३ वर्षका बच्चा छन् ।