
सरकारका एक प्रभावशाली मन्त्री रमेश लेखकले सरकार फेरबदलको हल्ला निरर्थक रहेको बताएका छन् ।
कांग्रेस–एमालेबीच सौहाद्रपूर्ण वातावरण रहेको र सहमतिअनुसार नै २०८४ सालसम्म यही गठबन्धन जाने उनले बताए ।
आइतबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले अस्थिरता चाहने शक्तिले सरकार परिवर्तन र मन्त्री फेरबदलको हल्ला चलाइरहेको बताएका हुन् ।
‘म जहाँ पनि जान्छु, एउटा जिज्ञासा राखिरहेको पाउँछु । तपाईंहरूमा पनि होला । सरकार परिवर्तनको हल्लाबारे,’ मन्त्री लेखकले भने, ‘यो सरकार परिवर्तन हुने कुनै सम्भावना छैन, कांग्रेस र एमालेका बीचमा हामीले जे सहमति गरेका छौं । २०८४ सालसम्म यही गठबन्धन जान्छ । हाम्राबीचमा समस्या छैन, अत्यन्त सौहाद्रपूर्ण वातावरण रहेको छ ।’
कांग्रेस–एमालेबीच सत्ता समीकरणका एकजना सूत्रधार लेखकले जनतामा अस्थिरताको सन्देश फैलाउने गरी हल्ला चलाइएको बताए । ‘फेरि अर्को सरकार बन्ने खालका हल्ला निरर्थक हुन् । सरकार परिवर्तन या मन्त्री फेरबदलका कुरा गरेर अस्थिरताको सन्देश दिन खोजेजस्तो देखिन्छ । कांग्रेस र एमालेले जे सहमति गरेका छौं, त्यहीअनुसार अगाडि बढ्छौं ।’