०३ असार २०८३, बुधबार
उमागौरी सहकारी ठगी प्रकरण

लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जनालाई ८ वर्ष कैदको माग, २२ करोड बिगो

मंसिर ३०, २०८१
विराटनगर
लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जनालाई ८ वर्ष कैदको माग, २२ करोड बिगो

मोरङको धनपालथान गाउँपालिका– ३ मा रहेको उमागौरी कृषि सहकारी ठगी प्रकरणमा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अंजला कोइरालासहित २६ जनाविरुद्ध २२ करोड ४८ लाखको बिगो दाबी गरिएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूलाई उक्त बिगो माग दाबी गरिएको हो ।

सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८ सय ४२ जना शेयर सदस्यहरूको ३ करोड ८ लाख ८० हजार ३ सय रुपैयाँ शेयर रकम रहेको र ७०७ जना ऋणीहरूले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको लिएको पाइएको उल्लेख गरिएको छ ।

उक्त ऋणमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ ऋण उठेको र बाँकी १६ करोड १६ लाख ५७ हजार ८३२ रुपैयाँ ऋण उठ्न बाँकी रहेको अभियोगपत्रमा उल्लेख छ ।​

लेखा समिति सभापति  पोखरेलपत्नी कोइरालासहित शम्भुप्रसाद रौनियार, लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भुप्रसाद सिंह, आमोदकुमार मण्डल, जीतमान ठाकुर, विजयकुमार यादव, सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास, दिलमाया राई, उपासी राजवंशी, सोनु यादव, मोहमद नजाम उद्दिन, चम्पा गिरी, शम्भुप्रसाद सिंह, संतलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बास्कोटा, सुमन लोहनी, मित्रप्रसाद सिवाकोटी, सरदराज सिंह, मो. नसरुदिन, मनोजकुमार सोनी, यशोदाकुमारी राजबंशी फरार रहेका रहेका अभियोगपत्रमा उल्लेख छ ।

फरार प्रतिवादीको सूचीमा रंगेली नगरपालिका– वडा नम्बर २ का अध्यक्ष ४३ वर्षीय संतलाल खवास पनि छन् । उनी सहकारीको पूर्वउपाध्यक्ष हुन् ।

मोरङ जिल्ला अदालतले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई मंसिर २८ गते ​पुर्पक्षका लागि थुनामा पठाएको छ ।

प्रतिवादीहरूलाई ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायको माग गरिएको छ ।

सहकारी ऐन दफा १२४ को उपदफा (१) को देहाय (घ) (५) बमोजिम बिगो २२ करोड ४८ लाख ३७ हजार ७ सय रुपैयाँ बीस पैसा बिगो कायम गरी उक्त सजायको माग गरिएको हो ।

सहकारीको कार्यालय अहिले बन्द अवस्थामा छ ।

अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो । २० जना ऋणीले आफूहरू ठगिएको भन्दै प्रहरीमा निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको हो । 

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीले सहकारीबाट आफैं पीडित रहेको बयान दिएका छन् ।

सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारले राजवंशीको आमाको नाममा रहेको घरजग्गा बैंकमा धितो राखेर ८० लाख रुपैयाँ ऋण निकालेर प्रयोग गरेका उनको दाबी छ ।

ऋण माग गर्दै सहकारीमा गएपछि आफूलाई सहकारीको सञ्चालक बनाएको दाबी गर्दै राजवंशीले आमाको नामको जग्गा राखेर २०७३ सालमा सिभिल बैंकबाट ८० लाख रुपैयाँ ऋण निकालेर आफूलाई ३० लाख मात्रै दिएको दाबी उनको छ ।

उक्त सहकारीले नियामक निकायबाट केन्द्र विस्तार गर्ने अनुमतिसमेत नलिई अमरदह, आमबारी, रमाईलोलगायतको ठाउँमा शाखा विस्तार गरी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र बचतकर्ताहरूको दैनिक तथा मासिक किस्ताबाटै ऋणको साँवा ब्याज काटिने भनेर प्रलोभन देखाई रकम बचत जम्मा गर्न लगाएको अभियोग पत्रमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्