नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र यूएनडीपीका कार्यवाहक आवासीय प्रतिनिधि जुलिएन चेभिलार्डले हस्ताक्षर गरेका हुन् ।
निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन एवं यूनडीपीले तय गरेका विकास लक्ष्यलाई पूरा गर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ ।
जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलका साथै जोखिम न्यूनीकरण गर्नेबारे समेत प्रतिवद्धता जनाइएको छ ।
चेम्बर अफ कमर्स र यूएनडीपीबीच भएको सहमति तत्कालै कार्यान्वयनमा आउनेछ ।
राष्ट्रसङ्घीय एजेन्सीसँग निजी क्षेत्रको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यबारे सहकार्य गर्नु निजी क्षेत्रका लागि महत्वपूर्ण भएको चेम्बर अध्यक्ष अग्रवालले बताए।
यूएनडीपीका कार्यवाहक आवासीय प्रतिनिधि चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसङ्घीय लक्ष्य पूरा गर्न चेम्बरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।