
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्था, यसको संवेदनशीलता र जोखिमबारे थप अनुसन्धान गर्न विश्वका अनुसन्धान संस्थाहरूलाई आग्रह गरेकी छन् ।
जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा सोमबार भएको अन्तरक्रियामा उनले जलवायु परिवर्तनको असरका कारण नेपाल पछिल्लो समय के कसरी प्रभावित भएको छ र कस्तो जोखिममा छ भन्ने बारेमा नेपालका हिमाली क्षेत्र र समुदायमा अनुसन्धान गर्न आग्रह गरिन् ।
जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस, जिएफजेडका जियोमोर्फोलोजी विभाग प्रमुख प्रा डा निल्स होभियस, परियोजना तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख डा लुडविग स्ट्रोइनक लगायतसँगको भेट र अन्तरक्रियाका क्रममा मन्त्री डा देउवाले यस्तो आग्रह गरेकी हुन् ।
संस्थाका जलवायु विज्ञहरूसँग उनले हाल नेपाल जलवायु परिवर्तनको असरको चपेटामा परेको र यसका कारण पछिल्ला वर्षहरूमा अकल्पनीय क्षति व्यहोरिरहेको जानकारी गराउँदै यो समस्या समाधानका लागि थप अनुसन्धान र सहयोगको अपेक्षा गरिएको बताइन् ।
सो छलफलका क्रममा नेपालमा भू–प्राविधिक संकटकालीन अवस्थाहरू र जोखिम न्यूनीकरणका लागि बाढीपहिरो नियन्त्रणसम्बन्धी पूर्व चेतावनी प्रणालीका विषयमा कुराकानी भएको थियो । नेपाल र जीएफजेड पहिरोको पूर्व चेतावनी प्रणालीका क्षेत्रमा काम गर्दै आएका छन् ।
जलवायु सम्बन्धी विश्वप्रसिद्ध यी संस्थाहरूले जल सम्पदा एवं जल चक्रको अवस्था, बाढी पहिरो, वायुमण्डलीय प्रदूषण र जलवायु परिवर्तन तथा यसका असरहरुका बारेमा अध्ययन अनुसन्धान गर्दै आएका छन् ।
मन्त्री डा देउवाले जलवायु परिवर्तनका विषयमा नेपालले अन्तर्राष्ट्रिय समुदायको समन्वयमा रहेर आफ्ना प्रतिबद्धताहरु अनुरुप काम गरिरहेको र सबैजसो राष्ट्रसंघीय जलवायु सम्मेलन एवं बैठकहरूमा सक्रिय एवं उच्चस्तरीय सहभागिता जनाउँदै आएको उल्लेख गरिन् ।
नेपालले जलवायु न्याय, पर्वतहरूको संरक्षण एवं पर्याप्त तथा दिगो जलवायु वित्तका लागि निरन्तर वकालत गरिरहेको र गत हप्तामात्र नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा आफूले नेपालको जलवायु न्यायको माग दाबी गरेको उनले जानकारी दिइन् ।