
गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनका लागि दुई वटा उपसमिति गठन गर्ने निर्णय भएको छ । सोमबार बसेको एनआरएनए एकतासम्बन्धी उच्चस्तरीय समितिको भर्चुअल बैठकले एकता प्रक्रियालाई सार्थक बनाउँदै आगामी मे महिनामा महाधिवेशन गर्न उपसमिति बनाउने निर्णय भएको हो ।
जसअनुसार एकताको वातावरणका लागि आवश्यक समन्वय गर्ने जीवा लामिछाने, रामप्रताप थापा, भीम उदास र कुमार पन्त सम्मिलित एक कमिटी बनाइएको छ । यस्तै कार्यविधि (टीओआर) निर्माणका लागि उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त, विनोद कुँवर तथा परराष्ट्र र कानुन मन्त्रालयका प्रतिनिधि सम्मिलित अर्को कमिटी बनाइएको बैठकपछि एक सदस्यले जानकारी दिए । उनका अनुसार सचिवालयलाई व्यवस्थित बनाउन कुल आचार्य र कुमार पन्तलाई पनि थपिएको छ । यसअघि सचिवालयको जिम्मेवारी जानकी गुरुङ र रविना थापाले लिने गरि निर्णय भएकोमा सोमबार दुई जना थप गरिएको हो ।
समितिले दुई हप्ताभित्र कार्यविधि बनाएर अर्को बैठकमा पेस गर्ने निर्णय भएको छ । यस्तै समन्वय समितिले सबै पक्षसँग वार्ता र संवादमार्फत सहमति जुटाउँदै एकताको महाधिवेशनका लागि माहौल तयार गर्नेछ ।
बैठकमा बोल्दै उच्चस्तरीय समितिका संयोजक शेष घलेले पहिलो बैठकबाट भएका निर्णयहरुबारे ब्रिफिङ गरे भने पहिलो बैठकमा केही कमजोरी रहेको भए आफू सच्याएर अघि बढ्न तयार रहेको बताए । उनले एकताका लागि आफू लागिपरेको भन्दै सबैको साथ रहने विश्वास समेत व्यक्त गरे ।