
सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले मिसिल अध्ययन गर्नुपर्ने भन्दै चार दिनको समय मागेको थियो । जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले अदालतबाट ४ दिनको अनुमति पाएको लोकान्तरलाई बताइन् ।
पुस ५ मा सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रविविरुद्ध अदालतमा अभियोजन गर्दैछ । गैरकानूनी थुनामा राख्न नमिल्ने भएकाले रविलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो ।
सोमबार प्रहरीले अनुसन्धानको मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको थियो । रविलाई गत कात्तिक २ मा काठमाडौंको वनस्थलीबाट पक्राउ गरिएको थियो ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा रवि र पूर्वडीआईजी छविलाल जोशीसहित ५ जना कास्की प्रहरीको हिरासतमा छन् ।