२३ जेठ २०८३, शनिबार

पानीले बेर्ना कुहिएपछि दोस्रोपटक रोपियो आलु

पुस २, २०८१
काठमाडौं
पानीले बेर्ना कुहिएपछि दोस्रोपटक रोपियो आलु
फाइल फोटो

बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्‍याएपछि किसानले दोस्रोपटक रोपेका छन् । गत कात्तिक तेस्रो साताको बेमौसमी पानीले आलुमा क्षति पुर्‍याएको थियो । 

दोस्रोपटक आलु रोपेका किसानले उत्पादन राम्रो हुनेमा भने शङ्का गरेका छन् । चिसो शुुरू भएसँगै आलुलाई ‘पाला’ले असर गर्ने अनुमान किसानको छ । कालाबञ्जरका नरेन्द्र कुम्हारले रु दुई लाख खर्च गरेर पुनः आलु रोपेको बताए । पहिले आलु रोप्दा उनले रु तीन लाख बढी खर्च गरेका थिए ।

'दोस्रोपटक आलुको बिउ किनेर रोपियो तर मल हाल्नु परेन,' उनले भने । नरेन्द्रले १७ कट्ठा जग्गामा आलु खेती गरेका छन् । 'पहिले लगाएको आलु बेमौसमी पानीले सखाप पार्‍यो, जग्गा त्यत्तिकै राख्ने कुरा भएन, आफन्तसँग सापट र ऋण गरेर आलु रोपेका छौं,' उनले भने ।

स्थानीय रमेश मौर्यले पहिले रोपेको आलु बेमौसमी पानीले गर्दा नउम्रिएपछि सहकारीबाट ऋण लिएर पुनः रोपेको बताए ।

हिरमिनिया आलुको पकेट क्षेत्र मानिन्छ । यहाँका सबै किसानले आलुखेती गर्छन् । बेमौसमी पानीले आलु बारी डुबान भएको थियो । तीन दिनसम्म डुबानमा परेपछि आलुको बिउ सबै कुहिएको थियो ।

जेनेरेटर लगाएर पानी फालेका किसानले बेर्ना उम्रिने आशा गरेका थिए । केही किसानको थोरै बेर्ना उम्रिए पनि अधिकांशको उम्रिएन । आलु पुनः रोप्न पैसाको जोहो गर्न नसक्नेले तोरी, मुला, भाजी, पालक, मेथी, चम्सुर लगायतका तरकारी लगाएका छन् । ​

हिरमिनियामा सबैभन्दा धेरै आलु लगाउने किसान जयपाल मौर्य छन् । उनले ड्याङ बनाएर आलु रोपेकाले केही बेर्ना उम्रिएको बताए ।

उनले नउम्रिएको ठाउँमा फेरि रोपेका छन् । स्थानीय रमेश मौर्यले दोस्रोपटक पाँच हजार क्विन्टलका दरले बिउ किनेर आलु रोपेको बताए ।​

डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले किसानले लगाएको आलुको क्षतिपूर्तिको माग गरेको बताए ।

उनका अनुसार हिरमिनियाको भंघोटना, चौधरीपूर्वा, कालाबन्जार, बल्दीपूर्वा, महन्तपूर्वा, मुन्सीपूर्वा, पटवारीपूर्वाका सबै किसानले आलु खेती गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्