०८ साउन २०८३, शुक्रबार

लुम्बिनीमा ‘घुम्न जाऔं बर्दिया’ अभियान शुरू

पुस ४, २०८१
बुटवल
लुम्बिनीमा ‘घुम्न जाऔं बर्दिया’ अभियान शुरू

लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले ‘घुम्न जाऔं बर्दिया अभियान शुरू’ गरेको छ । 

ठाकुर बाबा नगरपालिकासँग सहकार्य गरेर प्रदेश सरकारले घुम्न जाऔं बर्दिया अभियान थालनी गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार अभियानको औपचारिक शुभारम्भ गरे ।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१\०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत घुम्न जाऔं बर्दिया अभियान सञ्चालन गरिएको हो । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारका रूपमा लिएको छ । 

जसअन्तर्गत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बर्दिया जिल्लालाई लक्षित गरेर अभियान चलाइएको हो । अभियानको थालनी गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि ध्यान दिएको र त्यसको शुरूआत बर्दियाबाट गरिएको बताए । 

‘बर्दिया जिल्लाको ऐतिहासिक स्थल र यहाँ रहेको राष्ट्रिय निकुञ्ज भ्रमणको गन्तव्यस्थल हो’, उनले भने, ‘लुम्बिनी प्रदेशवासीलाई एक पटक बर्दिया पुग्नेगरी, भ्रमण गर्नेगरी हार्दिक आमन्त्रण गर्दै भ्रमण गर्न आह्वान गर्दछु ।’

प्रदेश सरकारले कर्मचारीहरूलाई आन्तरिक पर्यटकीय क्षेत्रको भ्रमणका लागि दश दिनको समय उपलब्ध गराउने गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले कर्मचारीलाई पनि बर्दिया जिल्लाको भ्रमणका लागि आह्वान गरे ।

‘संघ, संस्था, विद्यालय, सहकारी संस्था लगायत सबै निकायमा रहनु भएकाहरूले एकपटक बर्दिया भ्रमणका लागि समय निकाल्न अनुरोध र आह्वान गर्दछु’, उनले भने, ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको अभियान पर्यटनबाट सम्भव छ । त्यही भएर सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ ।’ 

बर्दिया जिल्लाको समस्या बर्दियाको मात्रै नभएर सिंगो प्रदेशको भएकाले प्रदेश सरकारले समाधानका लागि ध्यान दिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता जनाए । समस्याको वर्गीकरण गरेर तीन तहका सरकारले साझा रूपमा सम्बोधन गर्ने गरी पहल शुरू भएको उनको भनाइ छ । 

बर्दिया राष्ट्रिय निकुञ्जसँगै जिल्लाकै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाऔं बर्दिया कार्यक्रम आयोजना गरिएको हो ।

देशका विभिन्न राष्ट्रिय निकुञ्जभन्दा फरक जैविक विविधता रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा एकै दिनमा बाघ, गैँडा र हात्तीको बथानका साथै चित्तल, जरायो, बाह्रसिङ्गा, विभिन्न प्रकारका चराचुरुङ्गी देख्न पाइन्छ । 

salt training

कमेन्ट गर्नुहोस्