
इन्फर्मेटिक्स कलेज पोखराको दीक्षान्त समारोह २०२४ सम्पन्न भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ।
कलेजले बिहीबार आयोजना गरेको दीक्षान्त समारोहमा १३० जना विद्यार्थी दीक्षित भएका छन् । बीए (अनर्स) बिजनेस प्रशासन विषयमा स्नातक तह गर्ने १३ जना र बीएस्सी (अर्नस) कम्प्युटिङ तह पूरा गर्ने ११७ जना विद्यार्थी दीक्षित भएका कलेजले जनाएको छ ।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ। वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ।
यी विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुऱ्याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन् । यस वर्षको इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति आयुष काजी श्रेष्ठलाई प्रदान गरिएको छ । उनले इस्लिङ्टन कलेजमा एमएस्सी आईटी र एप्लाइड सेक्युरिटी अध्ययनलाई निरन्तरता दिने छन् । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।
समारोहमा आईएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले स्नातकहरूलाई बधाई दिँदै सफल भविष्यको कामना गरे ।
‘सफलताको यो समारोह सम्बन्धको नयाँ आयामको रूपमा चिह्न लगाइएको छ । हामी एक शिक्षक र एक विद्यार्थी थियौं’, बुढाथोकीले भने, ‘अब, हामी विभिन्न सम्बन्धहरूमा जोडिने गर्दछौं । हामी सहकर्मी हुनेछौं, प्रभाव पार्न र फरक बनाउन व्यापार साझेदारको रूपमा सँगै काम गर्नेछौं वा हुनसक्छ हामी पनि व्यापारिक प्रतिस्पर्धी हुनेछौं ।’
इनफर्मेटिक्स कलेज पोखराले सूचना प्रविधि, व्यावसायिक प्रशासन र सम्बन्धित क्षेत्रहरूमा स्नातक कार्यक्रमहरू प्रदान गर्दै आएको छ । अन्तर्राष्ट्रिय साझेदारी, उच्चस्तरीय शैक्षिक कार्यक्रम र विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक संसारमा सफल बनाउने सीप र ज्ञान प्रदान गर्ने कलेजको विशेषता रहेको यसका सञ्चालकहरू बताउँछन् ।